६ असार २०८३, शनिबार

चीन–बेलारूस व्यापार सहकार्य विस्तारमा जोड

मिन्स्क । चिनियाँ उपराष्ट्रपति हान चङले चीन र बेलारूसबीच आर्थिक तथा व्यापारिक सहकार्य थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

आइतबार बेलारूसको राजधानी मिन्स्कमा आयोजित “सबैका लागि ठूलो बजार : चीनतर्फ निर्यात” शीर्षकको विशेष कार्यक्रममा सहभागी हुँदै उपराष्ट्रपति हानले दुई देशबीचको व्यापार, औद्योगिक सहकार्य र यातायात सम्पर्कलाई अझ प्रभावकारी बनाउने आवश्यकता औँल्याएका हुन्।

हानले चीन र बेलारूसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ३० वर्षभन्दा बढी अवधिमा परम्परागत मित्रता समयको परीक्षामा खरो उत्रिएको र निरन्तर सुदृढ हुँदै आएको बताए। उनले गत अगस्टमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र बेलारूसी राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोबीच भएको सफल भेटवार्ताले द्विपक्षीय सम्बन्धको नयाँ रूपरेखा कोरेको र विभिन्न क्षेत्रमा सहकार्यलाई नयाँ ऊर्जा दिएको उल्लेख गरे।

उपराष्ट्रपति हानका अनुसार वर्तमान विश्व राजनीतिक तथा आर्थिक परिस्थिति गहिरो र जटिल परिवर्तनबाट गुज्रिरहेको छ। यसले विभिन्न देशको विकास र विश्वव्यापी स्वतन्त्र व्यापारका लागि चुनौती सिर्जना गरेको छ। यस्तो अवस्थामा विश्वव्यापी ऐक्यबद्धता र सहकार्य नै सही मार्ग भएको धारणा चिनियाँ राष्ट्रपति सीले राख्दै आएको उनले बताए।

बेलारूस ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’प्रति प्रारम्भदेखि नै सक्रिय रूपमा सहभागी भएका मुलुकमध्ये एक रहेको उल्लेख गर्दै हानले चीनले बेलारूसलाई युरेशियाली क्षेत्रमा महत्वपूर्ण व्यापारिक तथा आर्थिक साझेदारका रूपमा लिएको बताए।

उनले चीन बेलारूससँग नीति समन्वय र औद्योगिक सहकार्य बलियो बनाउन, व्यापारिक मार्गलाई सहज बनाउन, व्यापारको मात्रा विस्तार गर्न, डिजिटल अर्थतन्त्रका नयाँ स्वरूप विकास गर्न तथा चीन–युरोप रेलमार्गमार्फत छिटो, प्रभावकारी र सुविधाजनक यातायात प्रवर्द्धन गर्न इच्छुक रहेको स्पष्ट पारे। यी प्रयासले द्विपक्षीय व्यापारको दिगो विकासका लागि अनुकूल वातावरण निर्माण गर्ने र खुला विश्व अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउने उनको भनाइ थियो।

हानले यस वर्ष चीनको १५औँ पञ्चवर्षीय योजनाको सुरुआत भएको उल्लेख गर्दै चीनले खुलापनलाई आफ्नो आधारभूत राष्ट्रिय नीतिका रूपमा निरन्तरता दिएको बताए। चीनले साझा विकासका लागि विश्वसँग अवसर बाँड्ने नीति अवलम्बन गर्दै आएको उनको भनाइ थियो।

गत वर्ष चीनले “सबैका लागि ठूलो बजार : चीनतर्फ निर्यात” कार्यक्रम शृङ्खला सुरु गरेको थियो। व्यापारिक साझेदारहरूसँग सहकार्य विस्तार गर्ने, विकाससम्बन्धी चुनौतीहरूलाई संयुक्त रूपमा सम्बोधन गर्ने, बहुपक्षीय व्यापार प्रणाली र स्वतन्त्र व्यापारको संरक्षण गर्ने तथा विश्व अर्थतन्त्रमा सकारात्मक ऊर्जा थप्ने उद्देश्यले उक्त कार्यक्रम अघि बढाइएको हानले बताए।

मिन्स्कमा आयोजित बेलारूस विशेष सत्र सन् २०२६ को “चीनतर्फ निर्यात” शृङ्खलाको पहिलो विदेशस्थित कार्यक्रम हो। कार्यक्रममा ४० भन्दा बढी चिनियाँ कम्पनी र २०० भन्दा बढी बेलारूसी कम्पनीबीच व्यापारिक सम्पर्क र सहकार्यका लागि छलफल भएको थियो। हानका अनुसार यस कार्यक्रमले बेलारूसी उत्पादनलाई चिनियाँ बजारमा प्रवेश गर्ने महत्वपूर्ण माध्यम उपलब्ध गराएको छ।

चीनले बेलारूसलाई यस अवसरको सदुपयोग गर्दै चीनसँगको व्यापारिक सहकार्यको दायरा निरन्तर विस्तार गर्न स्वागत गर्ने हानले बताए। उनले यसबाट दुवै पक्षलाई पारस्परिक लाभ पुग्ने र चीन–बेलारूस आर्थिक तथा व्यापारिक सहकार्यको नयाँ अध्याय सुरु हुने विश्वास व्यक्त गरे।

कार्यक्रम चीनको वाणिज्य मन्त्रालय र बेलारूसको परराष्ट्र मन्त्रालयको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा दुवै देशका ५०० भन्दा बढी राजनीतिक तथा व्यावसायिक प्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा सहभागी कम्पनीहरूले स्थलगत व्यापारिक बैठकहरू गर्दै विभिन्न सहकार्य परियोजनामा सहमति जनाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button