गुइझोउमा भीषण वर्षापछि बाढी, करिब १० हजार बासिन्दा सारिए

बेइजिङ । चीनको दक्षिण–पश्चिमी गुइझोउ प्रान्तका केही भागमा शनिबारदेखि आइतबारसम्म परेको भीषण वर्षाले बाढी निम्त्याएको छ। लगातारको वर्षा र बाढीका कारण प्रभावित क्षेत्रबाट करिब १० हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
सबैभन्दा बढी प्रभावित क्षेत्रमा छ्येनसी सहर, जुनयी सहर र छाङशुन काउन्टी परेका छन्।
छ्येनसीमा शनिबारदेखि आइतबार बिहानसम्म निरन्तर परेको वर्षाले सहरका सबै ३० वटै टाउनसिप प्रभावित भएका छन्। तीमध्ये पाँच टाउनसिपमा असाधारण रूपमा ठूलो वर्षा भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।
स्थानीय प्रशासनले चौबीसै घण्टा आपत्कालीन उद्धार तथा राहत कार्य सञ्चालन गरेको छ। हालसम्म आपत्कालीन टोलीहरूले ४९१ घरपरिवारका १ हजार ३७७ जनालाई सुरक्षित स्थानमा सार्नुका साथै बाढीमा फसेका ५० भन्दा बढी व्यक्तिको उद्धार गरेका छन्।
यसैबीच, छाङशुन काउन्टीमा बानछोङ जलाशयभन्दा तल्लो तटीय क्षेत्रका गाउँहरूबाट करिब १ हजार घरपरिवारका ३ हजारभन्दा बढी बासिन्दालाई सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ। विद्युत् अवरोधका कारण जलाशय सञ्चालन प्रभावित भएपछि पानीको बहाव बढेर ओभरफ्लो भएको थियो।
आइतबार साँझ ६ बजे चीनको जलस्रोत मन्त्रालय र चीन मौसम विज्ञान प्रशासनले पहाडी आकस्मिक बाढीको जोखिमलाई लिएर उच्चतम स्तरको रातो चेतावनी जारी गरेका छन्। चेतावनीअनुसार आइतबार राति ८ बजेदेखि सोमबार राति ८ बजेसम्म गुइझोउको दक्षिण–पूर्वी भागका केही क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।
यसको प्रतिक्रियास्वरूप छ्यानदोङनान मियाओ तथा तोङ स्वायत्त प्रिफेक्चरका स्थानीय अधिकारीहरूले २७ वटा नदीको निगरानी कडा बनाएका छन्। साथै हजारौँ सरकारी अधिकारी र बाढी नियन्त्रण कर्मचारीलाई परिचालन गरिएको छ।
आइतबार साँझसम्म छ्यानदोङनान क्षेत्रमा १ हजार ३२२ घरपरिवारका ४ हजार ५८२ बासिन्दालाई अग्रिम रूपमा सुरक्षित स्थानमा सारिएको छ। त्यस्तै, थप ७ हजार २१३ घरपरिवारका २१ हजार ७५४ बासिन्दालाई स्थानान्तरण गर्ने प्रक्रिया जारी रहेको अधिकारीहरूले जनाएका छन्।





