६ असार २०८३, शनिबार

भुटानको पुनाखा केन्द्रबिन्दु भएर भूकम्प, धक्का नेपालसम्म महसुस

काठमाडौं । भुटानको ऐतिहासिक सहर पुनाखा आसपास केन्द्रबिन्दु भएर आइतबार राति भूकम्प गएको छ। भूकम्पको धक्का भुटानसँगै नेपाल र भारतका केही भागमा समेत महसुस गरिएको जनाइएको छ।

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाली समयअनुसार आइतबार राति ११ बजेर २१ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको हो। प्रारम्भिक विवरणअनुसार भूकम्पको केन्द्रबिन्दु पुनाखा सहरबाट करिब ५ किलोमिटरको दूरीमा रहेको अनुमान गरिएको छ।

भूकम्पको धक्का भुटानमा स्पष्ट रूपमा महसुस गरिएको थियो। भारतीय सञ्चारमाध्यमले भारतको उत्तरपूर्वी क्षेत्रमा पनि कम्पन महसुस भएको उल्लेख गरेका छन्। भारतको नेसनल सेन्टर फर सिस्मोलोजीलाई उद्धृत गर्दै सार्वजनिक विवरणमा भुटानमा ५.८ म्याग्निच्युडको भूकम्प गएको र यसको गहिराइ करिब २६ किलोमिटर रहेको जनाइएको छ।

नेपालको सन्दर्भमा पूर्वी क्षेत्रका केही भूभागमा भूकम्पको धक्का महसुस भएको जनाइएको छ। रातिको समयमा कम्पन महसुस भएपछि पूर्वी नेपालका कतिपय स्थानीय बासिन्दा त्रसित बनेका थिए।

प्रारम्भिक विवरणअनुसार भूकम्पबाट ठूलो मानवीय क्षति वा संरचनागत क्षतिको पुष्टि भएको छैन। यद्यपि, सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रको अवस्थाबारे थप विवरण सङ्कलन गरिरहेका छन्।

भूकम्पीय जोखिम उच्च रहेको हिमालयी क्षेत्रमा पर्ने भुटान, नेपाल र भारतका पहाडी भूभागमा यस्ता कम्पनपछि सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिँदै आएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button