प्रधानमन्त्रीले ‘नेपालले मिचेको जमिन’ देखाउनुपर्छ : हर्क सम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘हर्क सम्पाङ’ले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिको प्रमाण सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीले नेपालले पनि भारतको जमिन मिचेको भनेको भए त्यसको स्पष्ट आधार र स्थान देखाउनुपर्ने बताए। उनले यदि त्यस्तो प्रमाण नभए प्रधानमन्त्रीले संसद्बाटै आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने धारणा राखे।
“नेपालले कहाँ–कहाँ जमिन मिचेको छ, त्यो प्रधानमन्त्रीले देखाउनुपर्छ। होइन भने उहाँले बोली सच्याउनुपर्छ,” राईले भने।
जेठ १७ गते संसद्मा बोल्दै प्रधानमन्त्री शाहले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको धेरै ठाउँमा जमिन मिचेको भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले विरोध जनाउँदै आएका छन्।
प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने, त्यसबारे संसद्मा स्पष्ट जवाफ दिनुपर्ने र विवादित भनाइ संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गर्दै सदन अवरुद्ध गरिरहेका छन्।
सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले राजनीतिक बहस चर्किएको छ। सांसद राईले यस्तो विषयमा तथ्य, प्रमाण र जिम्मेवार प्रस्तुति आवश्यक हुने भन्दै संसद्मा स्पष्टिकरण माग गरेका छन्।





