कर दर सूचना चुहावटमा अर्थमन्त्रीमाथि छानबिन माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बजेटअघि करका दर हेरफेरसम्बन्धी सूचना चुहिएको आशङ्का गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन हुनुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै शाहीले करका दर हेरफेर हुने विषय अर्थमन्त्रीबाहेक अन्य कसैलाई थाहा नहुने दाबी गरे। उनले यस प्रकरणमा अर्थमन्त्रीमाथि गम्भीर छानबिन हुनुपर्ने र राजद्रोहको मुद्दासमेत लाग्नुपर्ने धारणा राखे।
“यस प्रकरणमा अर्थमन्त्रीमाथि नितान्त छानबिन हुनुपर्छ र राजद्रोहको मुद्दा लाग्नुपर्छ,” शाहीले संसद् बैठकमा भने।
शाहीले कोरला र रसुवागढी नाकाबाट बजेटअघि नै कर तिरेर बजेटपछि गाडी भित्रिएको विषय उठाउँदै करका दर परिवर्तनसम्बन्धी सूचना कसरी बाहिरियो भन्ने प्रश्न गरे। उनले यस विषयमा सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसमेत गरे।
उनका अनुसार कर्मचारीलाई मात्र कारबाही गरेर अर्थमन्त्री यस प्रकरणबाट अलग हुन खोज्ने प्रवृत्ति स्वीकार्य हुन सक्दैन। बजेटजस्तो संवेदनशील विषयमा कर दरसम्बन्धी सूचना चुहिनु गम्भीर विषय भएको उनको भनाइ थियो।
कोरला र रसुवागढी नाकाबाट आएका करिब १ हजार ५०० बीवाइडी गाडी शङ्कास्पद रूपमा भित्रिएको र कर छली भएको आशङ्कामा सशस्त्र प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
यस घटनाले बजेट, कर नीति, सूचना गोपनीयता र राजस्व प्रशासनको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। प्रतिपक्षी दलहरूले यस विषयमा निष्पक्ष र विस्तृत छानबिन हुनुपर्ने माग गरेका छन्।





