२५ जेष्ठ २०८३, सोमबार

एमाले सुदूरपश्चिम संसदीय दलको कार्यालय तोडफोड प्रयास, दल नेताको नेमप्लेट भाँचियो

धनगढी – नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको कार्यालयमा तोडफोडको प्रयास भएको छ। सोमबार आक्रोशित कार्यकर्ताहरूले कार्यालयको केही सरसामानमा क्षति पुर्याएका छन्। प्रदेश सभा सदस्यहरूको प्रयासले तोडफोड रोकिएको छ। तर दलका नेता राजेन्द्रसिंह रावलको नेमप्लेट भाँचिएको छ।

यसको कारण अध्यक्ष केपी शर्मा ओलीको मन्त्री परिवर्तनसम्बन्धी दुई दिनभित्रैको भिन्न निर्देशन रहेको बताइन्छ।

आइतबार अध्यक्ष ओलीले बहालवाला मन्त्री सुरेन्द्र पाल, वीरबहादुर थापा, हिरासिंह सार्की र राज्यमन्त्री निर्मलादेवी साउदलाई हटाएर सन्तोष शर्मा थापा, दमन भण्डारी, चक्र मल्ललाई मन्त्री तथा जानकी ऐर बमलाई राज्यमन्त्री बनाउन निर्देशन दिएका थिए। उक्त निर्देशनअनुसार नाम कम्प्युटरमा टाइप गरी प्रिन्ट निकाली मिनटमा टाँस्ने क्रम थियो।

तर सोमबार अध्यक्ष ओलीले पुनः फोन गरी बहालवाला मन्त्रीलाई तत्काल नहटाई पुरानै कायम राख्न निर्देशन दिए। उक्त निर्णय उल्टिएपछि आक्रोशित कार्यकर्ताले संसदीय दलको कार्यालय तोडफोड गर्न खोजेको प्रत्यक्षदर्शीले जनाएका छन्।

तोडफोड रोक्न स्थानीय प्रदेश सभा सदस्यहरू घटनास्थलमा पुगेका थिए। हाल कार्यालय वरिपरि सुरक्षा व्यवस्था मिलाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button