सी चिनफिङ प्योङयाङमा, किम जोङ उनले गरे भव्य स्वागत

प्योङयाङ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिनफिङ सोमबार प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया अर्थात् उत्तर कोरियाको राजकीय भ्रमणका लागि प्योङयाङ पुगेका छन्।
उत्तर कोरियाली श्रमिक पार्टीका महासचिव तथा राज्य मामिला अध्यक्ष किम जोङ उन र उनकी पत्नी री सोल जूले राष्ट्रपति सी र उनकी पत्नी फङ लीयुआनलाई विमानस्थलमा स्वागत गरेका थिए। विमानबाट ओर्लिएपछि किमले सीसँग आत्मीय रूपमा हात मिलाएका थिए।
प्योङयाङको किम इल सुङ स्क्वायरमा सीको सम्मानमा भव्य स्वागत समारोह आयोजना गरिएको थियो। दुई पार्टी र दुई देशका शीर्ष नेताहरू संयुक्त रूपमा निरीक्षण मञ्चमा पुगेका थिए। २१ तोपको सलामीबीच सैन्य ब्यान्डले चीन र उत्तर कोरियाका राष्ट्रिय गान बजाएको थियो।
किम जोङ उनको साथमा राष्ट्रपति सीले कोरियाली जनसेनाका तीनै सेवाका सम्मान गारदको निरीक्षण गरेका थिए। त्यसपछि दुवै नेताले सैनिक मार्चपास अवलोकन गरेका थिए।
प्योङयाङका विभिन्न क्षेत्रका नागरिक, बालबालिका र किशोर–किशोरीहरू उत्सवमय पोसाकमा झन्डा, फूल र बेलुन बोकेर चिनियाँ अतिथिको स्वागतमा सहभागी भएका थिए। उनीहरूले ताली र जयजयकारसहित राष्ट्रपति सी र चिनियाँ प्रतिनिधिमण्डलप्रति स्वागत व्यक्त गरेका थिए।
विमानस्थलदेखि किम इल सुङ स्क्वायरसम्म र त्यहाँबाट कुमसुसान स्टेट गेस्टहाउससम्मको मार्गमा उत्तर कोरियाली नागरिकहरू सडकका दुवै किनारमा लाइनबद्ध भएर सीको आगमनको स्वागत गरेका थिए।
भ्रमणअघि सोमबार उत्तर कोरियाको आधिकारिक पत्रिका रोदोङ सिन्मुन मा प्रकाशित हस्ताक्षरित लेखमा सीले किम जोङ उनसँग भेटवार्ता गरी दुई देशबीचको परम्परागत मित्रता र द्विपक्षीय सम्बन्धको समग्र विकासबारे विचार आदानप्रदान गर्न आफू उत्सुक रहेको बताएका थिए।
सीको यो भ्रमण चीन–उत्तर कोरिया सम्बन्ध, परम्परागत मित्रता र रणनीतिक सहकार्यका दृष्टिले महत्वपूर्ण मानिएको छ।





