सुदूरपश्चिम मन्त्रिपरिषद पुनर्गठन, तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गरिएको छ। नेपाली कांग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकारमा कांग्रेसले आफ्ना पुराना मन्त्रीहरू फिर्ता बोलाएर सोमबार नयाँ मन्त्री र राज्यमन्त्री नियुक्त गरेको हो।
मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक मामिला मन्त्रीमा विक्रमसिंह धामी, सामाजिक विकास मन्त्रीमा बेलबहादुर राना र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा मानबहादुर रावललाई नियुक्त गरेका छन्।
त्यसैगरी आर्थिक मामिला राज्यमन्त्रीमा जुना दानी र सामाजिक विकास राज्यमन्त्रीमा मधु भारती नियुक्त भएका छन्।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूलाई प्रदेश प्रमुख नजिर मियाँले सोमबार बेलुका पद तथा गोपनीयताको शपथ गराएका छन्।
यसअघि सत्ता साझेदार दल नेकपा एमालेले पनि आफ्ना पुराना सबै मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने तयारी गरेको थियो। तर, अन्तिम समयमा केन्द्रको निर्देशनअनुसार एमालेले पुरानै मन्त्रीहरूलाई निरन्तरता दिएको जनाइएको छ।
मन्त्रिपरिषद पुनर्गठनसँगै सुदूरपश्चिम प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।





