६ असार २०८३, शनिबार

बजेटका बेला मन्त्री फेरबदल नगर्न एमाले केन्द्रको निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरू तत्काल नफेरिने भएका छन्। बजेटको समय भएकाले अहिले मन्त्री फेरबदल गर्दा राम्रो सन्देश नजाने भन्दै एमाले केन्द्रले पुरानै मन्त्रीहरूलाई निरन्तरता दिन निर्देशन दिएको हो।

एमाले केन्द्रले यसअघि प्रदेश सरकारमा रहेका आफ्ना चार मन्त्री फेर्ने विषयमा मुख्यमन्त्री कमलबहादुर शाह र संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई जानकारी गराएको थियो। पुराना तीन मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर नयाँ तीन मन्त्री र एक राज्यमन्त्री पठाउने तयारीअनुसार सोमबार बिहान १० बजे संसदीय दलको बैठक बोलाइएको थियो। तर, निर्धारित समयमा बैठक बस्न सकेन।

पछि साँझ ४ बजे बसेको बैठकमा मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने विषयमा छलफल भइरहेको थियो। सोही क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर तत्काल मन्त्रीहरूलाई यथावत् राख्न निर्देशन दिएको एक सांसदले बताए।

ती सांसदका अनुसार ओलीले अहिले बजेट निर्माण र कार्यान्वयनको संवेदनशील समय भएकाले यस्तो बेला मन्त्री परिवर्तन गर्दा राम्रो सन्देश नजाने बताएका थिए। त्यसपछि एमालेले तत्कालका लागि पुरानै मन्त्रीहरूलाई निरन्तरता दिने निर्णय गरेको हो।

सुदूरपश्चिम प्रदेश सरकारमा एमालेबाट हाल भौतिक पूर्वाधारमन्त्री सुरेन्द्र पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भूमि व्यवस्था मन्त्री वीरबहादुर थापा र राज्यमन्त्री निर्मला साउँद सहभागी छन्।

एमालेले उनीहरूलाई फिर्ता बोलाएर उपनेता सन्तोष शर्मा, प्रमुख सचेतक चक्र मल्ल र दमन भण्डारीलाई मन्त्री तथा जानकी ऐर बमलाई राज्यमन्त्री बनाउने तयारी गरेको थियो। तर, केन्द्रको निर्देशनपछि उक्त तयारी तत्कालका लागि रोकिएको छ।

यसअघि नेपाली कांग्रेसले भने आफ्ना पुराना मन्त्रीहरू फिर्ता बोलाएर सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गरिसकेको छ। कांग्रेस नेतृत्वको सरकारमा एमाले सत्ता साझेदार दलका रूपमा सहभागी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button