साना व्यवसायीले धितोबिना डिजिटल कर्जा पाउने

काठमाडौं । लघु, साना तथा मझौला व्यवसायीले अब कारोबार विवरणका आधारमा डिजिटल माध्यमबाटै धितोबिना कर्जा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
नयाँ व्यवस्थाअनुसार लघु, साना तथा मझौला व्यवसायीले दीर्घकालीन प्रकृतिको चालु पुँजी कर्जाका रूपमा डिजिटल माध्यमबाट १० लाख रुपैयाँसम्म ऋण पाउन सक्नेछन्। यस्तो कर्जा लिन धितो राख्नुपर्ने छैन।
त्यसैगरी एक वर्ष अवधिको अल्पकालीन चालु पुँजी कर्जाका रूपमा यस्ता व्यवसायीले पाँच लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
यसअघि तलबी खाता भएका ग्राहकले तीन वर्षका लागि पाँच लाख रुपैयाँसम्मको कर्जा डिजिटल माध्यमबाटै पाउँदै आएका थिए। तलब खाता बाहेक अन्य खाता भएका सर्वसाधारण ग्राहकले भने तीन वर्षका लागि दुई लाख रुपैयाँसम्म डिजिटल कर्जा पाउने व्यवस्था छ।
व्यवसायीलाई डिजिटल कारोबार विवरण, भुक्तानी विवरण तथा व्यवसायसँग सम्बन्धित अन्य तथ्याङ्कका आधारमा कर्जा उपलब्ध गराइनेछ। यसका लागि बैंक तथा वित्तीय संस्थाहरूले प्रविधि प्रदायक संस्थाहरूसँग सहकार्य गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
डिजिटल माध्यमबाट प्रवाह हुने यस्तो कर्जामा हुने जोखिम व्यवस्थापनको जिम्मेवारी भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै हुनेछ।
राष्ट्र बैंकको यो व्यवस्थाले साना व्यवसायीलाई कर्जा प्रक्रियामा सहज पहुँच दिनुका साथै औपचारिक वित्तीय प्रणालीमा डिजिटल कारोबारको प्रयोग बढाउने अपेक्षा गरिएको छ।





