६ असार २०८३, शनिबार

गोर्खा सैनिकका गुनासाबारे नेपाल–बेलायत छलफल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बेलायतका रक्षा सचिव जोन हिली तथा भूतपूर्व सैनिक तथा जनशक्ति मामिला मन्त्री लुइस स्यान्डहर–जोन्ससँग भर्चुअल बैठक गरी बेलायती गोर्खा सैनिकका दीर्घकालीन गुनासाबारे छलफल गरेका छन्।

बैठकमा बेलायती गोर्खा सैनिकहरूले लामो समयदेखि उठाउँदै आएका मुद्दा, विशेषगरी अनुपातिक पेन्सनको मागबारे केन्द्रित छलफल भएको थियो। परराष्ट्रमन्त्री खनालले नेपाल–बेलायत सम्बन्धमा गोर्खा सैनिकहरूको ऐतिहासिक योगदान र महत्त्व उल्लेख गर्दै उनीहरूका गुनासा यथाशीघ्र समाधान गर्न आवश्यक रहेको बताए।

खनालले न्याय, निष्पक्षता र सम्मानको दृष्टिकोणबाट गोर्खा सैनिकसँग सम्बन्धित समस्या समाधान गर्न बेलायती सरकारलाई आग्रह गरे। उनले दुवै पक्षलाई स्वीकार्य हुने समाधान निकाल्नु अहिलेको आवश्यकता रहेको धारणा राखे।

बैठकमा बेलायत सरकारका तर्फबाट भूतपूर्व सैनिक तथा जनशक्ति मामिला मन्त्री लुइस स्यान्डहर–जोन्सले गोर्खा भूतपूर्व सैनिकका मुद्दा समाधानका लागि नेपाली पक्षसँग नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

भर्चुअल बैठकमा नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईसहित परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी थिए। बेलायती पक्षबाट सांसद एलेक्स बेकर, नेपालसम्बन्धी सर्वदलीय संसदीय समूहका अध्यक्ष तथा बेलायती रक्षा मन्त्रालयका उच्च अधिकारीहरू उपस्थित थिए। बैठकमा बेलायतस्थित विभिन्न गोर्खा संगठनका प्रतिनिधिहरूको पनि सहभागिता थियो।

यसअघि परराष्ट्रमन्त्री खनालले बेलायतमा रहेका गोर्खा भूतपूर्व सैनिकका प्रतिनिधिहरूसँग पनि भर्चुअल अन्तर्क्रिया गरेका थिए। उक्त बैठकको समन्वय तथा सहजीकरण लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले गरेका थिए।

नेपाल सरकारले बेलायती गोर्खा सैनिकका पेन्सन तथा अन्य अधिकारसम्बन्धी मुद्दा लामो समयदेखि कूटनीतिक तहमा उठाउँदै आएको छ। पछिल्लो संवादलाई ती मुद्दाको समाधानतर्फको अर्को महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button