६ असार २०८३, शनिबार

अत्यधिक बिदा स्वीकृत गरेपछि दुई गुल्मपति फिर्ता

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले अस्वाभाविक रूपमा धेरै कर्मचारीलाई बिदा स्वीकृत गरेको पाइएपछि सल्यान र जाजरकोटस्थित दुई गुल्मका कमाण्डरलाई जिम्मेवारीबाट फिर्ता बोलाएको छ।

सशस्त्र प्रहरी बलका अनुसार ती गुल्ममा कार्यरत कर्मचारीलाई अत्यधिक संख्यामा बिदा दिइएको विषयमा उजुरी परेपछि प्रधान कार्यालयले वरिष्ठ उपरीक्षकको नेतृत्वमा छानबिन टोली खटाएको थियो। टोलीले स्थलगत अध्ययन तथा अभिलेख परीक्षणपछि जनशक्ति व्यवस्थापनमा गम्भीर लापरबाही भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको हो।

सोही प्रतिवेदनका आधारमा दुवै गुल्मपतिलाई कमाण्डबाट हटाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयको कानुन निर्देशनालयमा हाजिर गराइएको छ। उनीहरूमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।

रिक्त भएका दुवै गुल्ममा छिट्टै नयाँ कमाण्डर खटाउने तयारी गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

यसैबीच, मुस्ताङस्थित कोरला नाकाबाट अवैध रूपमा भेप अर्थात् इलेक्ट्रोनिक चुरोट भित्रिएको प्रकरणमा पनि सुरक्षा निगरानीमा कमजोरी देखिएको भन्दै सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट नेचुङका तत्कालीन कमाण्डरमाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाइएको छ।

सशस्त्र प्रहरी बलले संगठनभित्र अनुशासन, जनशक्ति व्यवस्थापन र सीमा सुरक्षामा हुने कुनै पनि प्रकारको लापरबाही स्वीकार्य नहुने जनाएको छ। जिम्मेवारी निर्वाहमा कमजोरी देखिएका अधिकारीमाथि आवश्यक कारबाहीलाई निरन्तरता दिइने बलको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button