दीपक खड्कासहित तीन नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले संखुवासभाका पूर्वमन्त्री दीपक खड्कासहित तीन नेतासँग अनुशासन उल्लंघनसम्बन्धी आरोपमा स्पष्टीकरण माग गरेको छ।
पार्टीको केन्द्रीय अनुशासन समितिले खड्कासँगै जिल्ला सचिव कुमारबहादुर अधिकारी र समानुपातिक उम्मेदवार थलकुमार लिंखालाई पाँच दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।
आरोप पत्रमा खड्काले पार्टीभित्र विशेष अधिवेशनबाट बनेको कार्यसमितिलाई अस्वीकार गर्ने अभिव्यक्ति दिएको, निर्वाचन परिणामप्रति निराशाजनक टिप्पणी गरेको तथा पार्टीको जित सम्भव नभएको भन्दै कार्यकर्तामाझ भ्रामक सन्देश प्रवाह गरेको दाबी गरिएको छ।
त्यस्तै, उनीमाथि आफ्ना निकट व्यक्तिहरूलाई पार्टीगत कार्यक्रममा सहभागी नहुन आग्रह गरेको आरोप पनि लगाइएको छ। सार्वजनिक रूपमा पार्टीको चुनाव चिन्ह ‘रुख’ प्रति समर्थन देखाए पनि आन्तरिक रूपमा अन्य राजनीतिक प्रतीकतर्फ मतदान गर्न प्रेरित गरेको आरोप पत्रमा उल्लेख छ।
कांग्रेसले यी गतिविधिलाई अनुशासनहीनता र अन्तर्घातसम्बन्धी प्रकृतिका रूपमा लिँदै स्पष्टीकरण माग गरेको जनाएको छ।
समितिले तोकिएको समयभित्र लिखित जवाफ नआए पार्टीको विधान र नियमावलीअनुसार थप प्रक्रिया अघि बढाउने संकेत गरेको छ।





