५ असार २०८३, शुक्रबार

डडेल्धुरामा चौलो नाचमार्फत मौलिक संस्कृति संरक्षणको सन्देश

डडेल्धुरा । सुदूरपश्चिमको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तालाई त्यसको महत्त्वबारे जानकारी गराउने उद्देश्यले डडेल्धुरामा चौलो नाच प्रदर्शन गरिएको छ।

क्याम्ब्रिज पब्लिक स्कुलमा सोमबार आयोजित कार्यक्रममा जिल्लाको प्रसिद्ध कैलपालमाडौं क्षेत्रको चौलो नाच प्रस्तुत गरिएको हो। नाङ्गो खुकुरी र तरबारसहित प्रस्तुत गरिएको चौलो नाचले विद्यार्थी तथा उपस्थित दर्शकको ध्यान आकर्षित गरेको थियो। वीरता, साहस र सांस्कृतिक गौरव झल्काउने यो नृत्यले विद्यालय परिसरलाई सांस्कृतिक रंगमञ्चको रूपमा परिणत गरेको थियो।

कार्यक्रममा हुड्केली गीतसमेत प्रस्तुत गरिएको थियो। हुड्केको तालमा गाइने लोकभाकाले सुदूरपश्चिमको सामाजिक जीवन, इतिहास र संस्कृतिलाई उजागर गरेको थियो।

डोटेली संस्कृतिका जानकार कैलाशकुमार पाण्डेयले आधुनिकताको प्रभावका कारण मौलिक संस्कृति ओझेलमा पर्दै गएको अवस्थामा यस्ता कार्यक्रमले परम्परागत कला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले संस्कृति पुस्तान्तरणको आवश्यकता औँल्याउँदै नयाँ पुस्ताले आफ्ना मौलिक परम्परा बिर्संदै गएकोमा चिन्ता व्यक्त गरे।

पाण्डेयका अनुसार पुर्खाले सिर्जना गरेका सांस्कृतिक सम्पदा र पौरखका प्रतीकलाई संरक्षण गरी भावी पुस्तासम्म पुर्‍याउनु आवश्यक छ। विद्यालय तहबाटै यस्ता संस्कृतिबारे जानकारी दिन सके युवा पुस्तामा आफ्नो मौलिक पहिचानप्रति गर्वको भावना विकास हुने उनको भनाइ थियो।

सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख मीनबहादुर लामिछानेले स्थानीय संस्कृति र सम्पदाको संरक्षणका लागि कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले सुदूरपश्चिमका मौलिक कला, बाजा र लोकसंस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए।

लामिछानेले हुड्केली गीत, चौलो नाच र स्थानीय मौलिक बाजा अमूल्य सांस्कृतिक सम्पदा भएकाले यी परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको बताए।

विद्यालयका प्रिन्सिपल हर्केश साँकीले आधुनिक मनोरञ्जनका साधनको प्रभाव बढ्दै जाँदा परम्परागत कला र संस्कृति ओझेलमा पर्ने जोखिम बढेको बताए। उनका अनुसार विद्यालय केन्द्रित सांस्कृतिक कार्यक्रमले स्थानीय संस्कृति संरक्षणसँगै विद्यार्थीलाई आफ्नो मौलिक पहिचानसँग जोड्ने महत्वपूर्ण माध्यमको काम गर्न सक्छ।

गाउँघर मिडिया हाउसको आयोजना तथा सामाजिक विकास कार्यालय डडेल्धुराको सहयोगमा आयोजित कार्यक्रममा स्थानीय मौलिक बाजाको धुनसँगै चौलो नाच प्रस्तुत गरिएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button