२६ जेष्ठ २०८३, मंगलवार

साढे चार करोडको जग्गा मानव सेवा आश्रमलाई दान

झापा । मेचीनगर–४ बाहुनडाँगीका ८४ वर्षीय रामबहादुर प्रधानले आफ्नो जीवनभरको कमाइबाट जोडेको साढे चार करोड रुपैयाँ मूल्य बराबरको २ बिघा ५ कठ्ठा जमिन मानव सेवा आश्रमलाई दान गरेका छन्।

सन्तान नभएपछि जीवनभर आर्जन गरेको सम्पत्ति कसरी सदुपयोग गर्ने भन्ने चिन्तामा रहेका प्रधानले असहाय, वृद्ध, सडक मानव र बालबालिकाको सेवामा उपयोग हुने विश्वासका साथ जग्गा आश्रमलाई हस्तान्तरण गरेका हुन्। सम्पत्ति दान गरेपछि उनी आफ्ना दुई पत्नी लक्ष्मी र पूर्णमायासहित आश्रमकै संरक्षणमा बस्दै आएका छन्।

प्रधानका अनुसार सुरुमा उनले जग्गा सुकुम्वासीलाई बाँड्ने वा आफैँ वृद्धाश्रम खोल्ने सोच बनाएका थिए। तर, पछि भरपर्दो र सेवामुखी संस्थालाई जग्गा दान गर्ने निष्कर्षमा पुगेपछि मानव सेवा आश्रमसँग जोडिएका थिए। आश्रमका प्रतिनिधिसँग पटक–पटक छलफल भएपछि करिब पाँच वर्षअघि जग्गा दान गर्ने सहमति भएको थियो।

उनले भद्रपुरस्थित मालपोत कार्यालय पुगेर बाहुनडाँगीमा रहेको आफ्नो नामको २ बिघा ५ कठ्ठा जग्गा मानव सेवा आश्रमको नाममा नामसारी गरिदिएका थिए। हाल सो आश्रममा वृद्ध, असहाय, सडक मानव र बालबालिकासहित १०४ जना आश्रित रहेका छन्।

दोलखाको जिलु गाउँमा जन्मिएका प्रधान किशोर अवस्थामै रोजगारीको खोजीमा घर छाडेर भारतको सिक्किम पुगेका थिए। भारी बोक्ने र बाटो खन्नेजस्ता श्रम गर्दै उनले जीवनयात्रा सुरु गरेका थिए। पछि सिलिगुडी हुँदै झापाको बाहुनडाँगी आइपुगेका उनले त्यहीँ बसेर खेतीपाती र धान–मकैको व्यापार सुरु गरे।

विसं २०२० सालतिर बाहुनडाँगी पुगेका प्रधानले सिक्किममा श्रम गरेर जोहो गरेको रकम र दोलखाको जग्गा बेचेर ल्याएको पैसाबाट बाहुनडाँगीमा जग्गा किनेका थिए। उनका अनुसार त्यतिबेला बिघाको करिब चार हजार रुपैयाँमा जग्गा खरिद गरिएको थियो।

खेतीपातीसँगै गाउँमा धान–मकै किनेर भारतीय बजार नक्सलबारीमा बिक्री गर्ने व्यापारबाट उनको आर्थिक अवस्था क्रमशः सुदृढ हुँदै गएको थियो। लामो संघर्ष र परिश्रमबाट जोडेको सम्पत्ति अन्ततः समाजसेवाका लागि दान गर्न पाउँदा आफू सन्तुष्ट भएको प्रधान बताउँछन्।

प्रधानले पहिलो विवाह २०२२ सालमा दोलखाकी लक्ष्मी श्रेष्ठसँग गरेका थिए। लामो समयसम्म सन्तान नभएपछि उनले झापाकी पूर्णमाया श्रेष्ठसँग दोस्रो विवाह गरेका थिए। तर, दुवै विवाहबाट सन्तान नभएपछि जीवनभरको सम्पत्ति कसलाई छाड्ने भन्ने प्रश्नले उनलाई लामो समयसम्म सोचमग्न बनाएको थियो।

दोलखामा पनि आफ्ना नजिकका वंशज नभएको बताउँदै प्रधानले आफ्नो सम्पत्ति असहाय र सेवाको खाँचोमा रहेका मानिसको हितमा प्रयोग होस् भन्ने उद्देश्यले आश्रमलाई दान गरेको बताएका छन्।

मानव सेवा आश्रमले प्रधान दम्पतीको खाने, बस्ने, औषधि उपचारलगायत आधारभूत आवश्यकताको व्यवस्था मिलाएको छ। प्रधान भने आफूहरू नभए पनि आफ्नो जमिनमा सयौँ असहाय, वृद्ध र बालबालिकाले आश्रय पाउने कुरा नै जीवनको ठूलो सन्तोष भएको बताउँछन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button