६ असार २०८३, शनिबार

संसद् गतिरोध हटाउने सर्वदलीय प्रयास निष्कर्षविहीन

काठमाडौं । संसद्को जारी गतिरोध अन्त्य गर्ने उद्देश्यले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन टुङ्गिएको छ। रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सोमबार बसेको बैठकमा विपक्षी दलहरूसँग संसद्को अवरोध हटाउने विषयमा छलफल भए पनि सहमति जुट्न सकेन।

प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभामा नेपाल–भारत सीमा सम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं संसद्‌मा उपस्थित भई माफी माग्नुपर्ने, अभिव्यक्ति सच्याउनुपर्ने र विवादित भनाइ संसद्को अभिलेखबाट हटाउनुपर्ने अडान राख्दै आएका छन्।

बैठकमा संसद्को गतिरोध अन्त्य गर्न सरकारका तर्फबाट परराष्ट्रमन्त्रीले जवाफ दिने विकल्प राखिएको थियो। तर, विपक्षी दलहरूले प्रधानमन्त्रीले बोलेको विषयमा अरू मन्त्रीले जवाफ दिन नमिल्ने भन्दै उक्त प्रस्ताव स्वीकार गरेनन्।

नेकपाका सांसद वर्षमान पुनले रास्वपा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट राजनीतिक दलहरूबीच संवाद सुरु गर्ने प्रयास गरेको बताए। उनका अनुसार बैठकले ठोस सहमति नगरे पनि दलहरूबीच देखिएको संवादहीनता तोड्ने काम गरेको छ।

बैठकमा सत्तापक्ष प्रधानमन्त्रीले प्रतिनिधिसभामा बोलेको “नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ” भन्ने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन तयार देखिएको थियो। तर, प्रधानमन्त्री स्वयंले संसद्‌मा जवाफ दिनुपर्ने विपक्षी अडानका कारण सहमति हुन नसकेको नेताहरूले बताएका छन्।

रास्वपा सहमहामन्त्री विपिन आचार्यले संसद्को गतिरोध कहीँ न कहीँ पुगेर अन्त्य गर्नुपर्ने भएकाले छलफलको पहल गरिएको बताए। उनले समसामयिक राजनीतिक विषयसँगै सभापति लामिछानेको भारत भ्रमणबारे पनि अन्य दलका नेताहरूलाई जानकारी गराइएको बताए।

१८ देखि २२ जेठसम्म भारत भ्रमणबाट फर्किएपछि लामिछानेले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका थिए। त्यसपछि उनले संसद्को अवरोध अन्त्य गर्न सर्वदलीय बैठक बोलाएका हुन्। फागुन २१ को निर्वाचनपछि रास्वपा संसद्को ठूलो दल बनेयता पहिलोपटक यस्तो सर्वदलीय बैठक बसेको हो।

एमाले प्रमुख सचेतक ऐनबहादुर महरले बैठकमा भारत भ्रमणबारे जानकारी गराइनुका साथै संसद्को अवरोध खुलाउने विषयमा विभिन्न प्रस्तावमा छलफल भएको बताए।

रास्वपा सहमहामन्त्री आचार्यले संसदीय लोकतन्त्रमा दलहरू कहिले सत्तापक्ष र कहिले प्रतिपक्षमा रहने भएकाले राष्ट्रिय मुद्दामा संवाद आवश्यक हुने बताए। उनले देश र जनताका पक्षमा साझा धारणा बनाउन आगामी दिनमा पनि यस्ता सर्वदलीय बैठक जारी रहने बताए।

राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलले संसद्मा देखिएको तिक्तता कम गर्न रास्वपा सभापति लामिछानेले गरेको प्रयास सकारात्मक भएको बताएका छन्। उनका अनुसार प्रधानमन्त्रीसँग सल्लाह गरेर राजनीतिक गतिरोध तोड्ने उद्देश्यले सर्वदलीय बैठक बोलाइनु जिम्मेवार पहलका रूपमा लिन सकिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button