६ असार २०८३, शनिबार

गैरकानुनी गतिविधिमा संलग्न ५२३ विदेशी देशनिकाला

काठमाडौं । नेपालमा भिसाको दुरुपयोग गरी गैरकानुनी गतिविधिमा संलग्न भएको पाइएपछि अध्यागमन विभागले ५२३ विदेशी नागरिकलाई देशनिकाला गरेको छ। पर्यटन, व्यापार, अध्ययनलगायत विभिन्न बहानामा नेपाल प्रवेश गरी भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न विदेशीमाथि विभागले निगरानी र कारबाही तीव्र बनाएको हो।

अध्यागमन विभागका अनुसार सन् २०२५ जनवरी १ देखि डिसेम्बर ३१ सम्म विभिन्न गैरकानुनी गतिविधिमा संलग्न ५२३ विदेशी नागरिकलाई देशनिकाला गरिएको हो। तीमध्ये ३८० जना भिसा अवधि सकिएपछि पनि नेपालमै गैरकानुनी रूपमा बसिरहेका अर्थात् ओभरस्टेमा संलग्न भेटिएका थिए।

विभागका महानिर्देशक रामचन्द्र तिवारीले नेपाललाई विदेशी नागरिकले अपराधको सुरक्षित थलोका रूपमा प्रयोग गर्न नपाउने स्पष्ट पारे। उनका अनुसार पर्यटक वा अन्य वैध प्रयोजनका नाममा नेपाल प्रवेश गरी गैरकानुनी गतिविधि गर्नेहरूमाथि कडा निगरानी र कारबाही जारी रहनेछ।

विभागका प्रवक्ता तथा निर्देशक टिकाराम ढकालका अनुसार ओभरस्टे बाहेक लागूऔषध कारोबार, विदेशी मुद्रा कसुर, यौनशोषण, अनधिकृत वित्तीय कारोबार, साइबर गतिविधि र अन्य शंकास्पद गतिविधिमा संलग्न विदेशी नागरिकमाथि समेत कारबाही गरिएको छ।

अध्यागमन विभागका अनुसार केही विदेशी नागरिक नेपालमा टुरिस्ट भिसामा आउने तर यहाँ आएपछि भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न हुने प्रवृत्ति देखिएको छ। काठमाडौं उपत्यकाका केही अपार्टमेन्ट, होटल, होस्टेल र भाडाका फ्ल्याटलाई शंकास्पद गतिविधिका लागि प्रयोग गरिएको सूचनापछि सुरक्षा निकायले निगरानी बढाएको छ।

विशेषगरी केही विदेशी नागरिकले नेपाली युवतीलाई आर्थिक प्रलोभन, विवाहको आश्वासन वा विदेश लैजाने बहानामा शोषण गरेको उजुरी तथा सूचनाहरू प्राप्त भएको विभागले जनाएको छ। यसै क्रममा काठमाडौंका केही स्थानमा अध्यागमन विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त टोलीले छापा मारी शंकास्पद गतिविधिमा संलग्न व्यक्तिमाथि कारबाही गरेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा केही अपार्टमेन्टहरू सामान्य बसोबासका लागि मात्र नभई शंकास्पद नेटवर्क सञ्चालन र गैरकानुनी गतिविधिका लागि प्रयोग भएको आशंका गरिएको थियो। त्यस्ता घटनामा संलग्न विदेशी नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी देशनिकाला गरिएको विभागले जनाएको छ।

सुरक्षा निकायका अनुसार इटली, सिरिया, थाइल्याण्डलगायत विभिन्न देशका नागरिकसमेत लागूऔषध तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न भेटिएका छन्। कतिपय घटनामा विदेशी नागरिक अन्तर्राष्ट्रिय आपराधिक नेटवर्कसँग जोडिएको हुनसक्ने आशंकामा थप अनुसन्धान भइरहेको जनाइएको छ।

अध्यागमन विभागले अब नेपालमा बसोबास गर्ने विदेशी नागरिकको भिसा अवस्था, बसोबासस्थल र गतिविधिमाथि थप निगरानी गर्ने तयारी गरेको छ। होटल, अपार्टमेन्ट, होस्टेल तथा भाडाका घरमा बस्ने विदेशीबारे आवश्यक विवरण अद्यावधिक र अनुगमन गर्ने विभागको तयारी छ।

विभागका अधिकारीहरूले नेपाललाई ट्रान्जिट, सेफ हाउस वा अपराध सञ्चालन केन्द्रका रूपमा प्रयोग गर्न खोज्ने जो–कोही विदेशी नागरिकमाथि कानुनअनुसार कडा कारबाही गरिने बताएका छन्। उनीहरूका अनुसार अध्यागमन निगरानी, प्रहरी अनुसन्धान र सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाइनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button