६ असार २०८३, शनिबार

कोरला नाकाबाट ६ अर्ब ६६ करोड राजस्व सङ्कलन

मुस्ताङ । उपल्लो मुस्ताङस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट ६ अर्ब ६६ करोड २६ लाख रुपैयाँभन्दा बढी भन्सार राजस्व सङ्कलन भएको छ।

लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका अनुसार गत भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरला नाकाबाट जेठ १६ गतेसम्म निकासी तथा पैठारीबापत उक्त राजस्व सङ्कलन भएको हो।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुँडालका अनुसार चीनबाट कोरला नाका हुँदै विद्युतीय सवारीसाधन, चाडपर्व लक्षित लत्ताकपडा, कस्मेटिक सामग्री, इलेक्ट्रोनिक सामानलगायत वस्तु नेपाल भित्रिएका छन्। ती वस्तुको पैठारीबाट उल्लेख्य भन्सार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

नेपालबाट भने हस्तकलाका सामग्री तथा नेपाली उत्पादनलगायत वस्तु कोरला नाका हुँदै चीनतर्फ निकासी भएका छन्। निकासीबाट २० करोड ५५ लाख ७४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार गत भदौदेखि जेठ १६ गतेसम्म कोरला नाका हुँदै २ हजार ९९७ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। विद्युतीय सवारीसाधनको पैठारीबाट मात्र ६ अर्ब ७६ करोड २ लाख रुपैयाँ भन्सार राजस्व सङ्कलन भएको जनाइएको छ।

यसैबीच, पछिल्लो समय जेठको दोस्रो साता चीनबाट कोरला नाका हुँदै नेपाल भित्रिएका विद्युतीय सवारीसाधनको पैठारी प्रक्रिया विवादमा परेको छ। कोरला नाकाबाट नेपाल भित्रिएका ६४९ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भइसकेको भनिए पनि सरकारले उक्त प्रक्रियाबारे अनुसन्धान सुरु गरेको छ।

सरकारले कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारीसाधनको पैठारी प्रक्रियामा कुनै कैफियत रहे/नरहेको पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

समितिले कास्कीको हेमजा, पर्वतको कुश्मा, मुस्ताङको जोमसोम र कोरला नाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय सवारीसाधनको अनुगमन गरिसकेको छ।

कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि उत्तरी व्यापारिक मार्गको रूपमा यसको महत्व बढ्दै गएको छ। विद्युतीय सवारीसाधनसहित चीनबाट हुने आयातमा वृद्धि भएसँगै मुस्ताङ भन्सार कार्यालयको राजस्व सङ्कलन पनि उल्लेख्य रूपमा बढेको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button