सभ्यताबीच संवाद र विश्वास बढाउन वाङ यीको आग्रह

बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यीले सभ्यताबीचको संवादमार्फत आपसी समझदारी र विश्वास अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। अन्तर्राष्ट्रिय सभ्यता संवाद दिवसका अवसरमा आयोजित कार्यक्रममा सोमबार भिडियोमार्फत सम्बोधन गर्दै उनले संवाद, आदानप्रदान र आपसी सिकाइलाई विश्व शान्ति र साझा विकासका लागि आवश्यक आधारका रूपमा उल्लेख गरे।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत रहेका वाङले अभूतपूर्व चुनौतीहरूको सामना गरिरहेको वर्तमान विश्वमा आदानप्रदानमार्फत एकता प्रवर्द्धन गर्न, सहमति खोज्न र मानवजातिको साझा भविष्यसहितको समुदाय निर्माणका लागि जनस्तर तथा सांस्कृतिक आधारलाई निरन्तर बलियो बनाउनुपर्ने बताए।
वाङले सभ्यताबीच संवाद प्रवर्द्धन गर्न चीनले चार पक्षीय दृष्टिकोण अघि सारेको उल्लेख गरे।
पहिलो, सबै पक्षले आपसी सम्मानलाई आधार मानेर विभिन्न सभ्यताबीच सद्भावपूर्ण सहअस्तित्व प्रवर्द्धन गर्नुपर्ने उनले बताए। सभ्यताबीच समानता, आपसी सिकाइ, संवाद र समावेशितालाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो।
दोस्रो, सभ्यताबीचको आदानप्रदानलाई जनमुखी दृष्टिकोणमा आधारित बनाउनुपर्ने वाङले बताए। उनका अनुसार विभिन्न देशका जनताबीच आपसी समझदारी र मित्रता बढाउन तथा सभ्यताबीचको आपसी सिकाइका उपलब्धि जनतासम्म अझ व्यापक र प्रत्यक्ष रूपमा पुर्याउन आवश्यक छ।
वाङले चीन सबै देशसँग सभ्यताबीच संवाद बढाउन र राज्य सञ्चालनसम्बन्धी अनुभव आदानप्रदान गहिरो बनाउन इच्छुक रहेको बताए। यसबाट समयका चुनौतीहरू संयुक्त रूपमा समाधान गर्न र विश्व आधुनिकीकरणको मार्ग फराकिलो बनाउन सहयोग पुग्ने उनको धारणा थियो।
तेस्रो, परम्परागत संस्कृतिको संरक्षण, उत्तराधिकार र नवप्रवर्तनमार्फत सभ्यता र प्रगतिलाई अघि बढाउने शक्ति बढाउनुपर्ने उनले बताए। चीन विभिन्न देशका उत्कृष्ट परम्परागत संस्कृतिको सिर्जनात्मक रूपान्तरण र नवीन विकासमा सहयोग गर्न तयार रहेको उनको भनाइ थियो।
उनले कृत्रिम बुद्धिमत्ता र सामाजिक सञ्जालजस्ता प्रविधिगत उपलब्धिलाई सभ्यताबीच आदानप्रदान, आपसी सिकाइ, सांस्कृतिक उत्तराधिकार र नवप्रवर्तनका लागि उपयोग गर्नुपर्ने पनि उल्लेख गरे। यसले मानव सभ्यताको साझा समृद्धिलाई प्रवर्द्धन गर्ने विश्वास उनले व्यक्त गरे।
चौथो, सबै पक्षले आदानप्रदान र आपसी सिकाइलाई निरन्तरता दिँदै सभ्यताबीच संवादका संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने वाङले बताए। चीन संयुक्त राष्ट्रसंघ सभ्यता गठबन्धन, युनेस्को र प्राचीन सभ्यता मञ्चजस्ता प्लेटफर्मको भूमिका अझ प्रभावकारी बनाउन समर्थन गर्ने उनले स्पष्ट पारे।
वाङका अनुसार यस्ता अन्तर्राष्ट्रिय मञ्चहरूले सभ्यताबीच संवाद, सहकार्य र साझा समझदारी निर्माणमा महत्त्वपूर्ण योगदान दिन सक्छन्। उनले सभ्यताबीचको संवादलाई विभाजन होइन, सहअस्तित्व र साझा प्रगतिको माध्यमका रूपमा अघि बढाउन सबै पक्षले प्रयास गर्नुपर्ने बताए।





