२६ जेष्ठ २०८३, मंगलवार

समुद्री पानीबाट रणनीतिक खनिज निकाल्न चीनको नयाँ प्रगति

बेइजिङ । चीनले समुद्री पानीको उपयोग र त्यसमा रहेका रणनीतिक खनिज स्रोतको निकासीसम्बन्धी अनुसन्धानमा नयाँ प्रगति हासिल गरेको जनाएको छ। चीनको प्राकृतिक स्रोत मन्त्रालयले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा समुद्री पानीमा रहेका युरेनियम, लिथियम, ड्युटेरियमलगायत सूक्ष्म तत्वको उपयोग र निकासीसम्बन्धी प्रविधिमा उल्लेखनीय उपलब्धि हासिल भएको जनाइएको छ।

प्रतिवेदनअनुसार चीनले वास्तविक समुद्री वातावरणबाट किलोग्रामस्तरमा युरेनियम निकाल्न सफल भएको छ। साथै, चिनियाँ अनुसन्धान संस्था, विश्वविद्यालय र उद्यमहरूले समुद्री पानीबाट लिथियम, युरेनियम, ड्युटेरियम र अन्य सूक्ष्म तत्व निकाल्ने आधारभूत सिद्धान्त तथा प्रमुख प्रविधिमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्।

वैश्विक रूपमा समुद्री पानीमा करिब ४ अर्ब ५० करोड टन युरेनियम रहेको अनुमान गरिएको छ। यो जमिनमा पहिचान भएका युरेनियम भण्डारभन्दा एक हजार गुणाभन्दा बढी मानिन्छ। त्यसैले समुद्री पानीबाट रणनीतिक खनिज निकाल्ने प्रविधिलाई भविष्यको ऊर्जा सुरक्षा र स्रोत व्यवस्थापनका दृष्टिले महत्वपूर्ण मानिएको छ।

प्रतिवेदनले चीनको समुद्री पानी नुन हटाउने तथा बहुउपयोगसम्बन्धी क्षेत्रलाई रणनीतिक उदयमान उद्योगका रूपमा निरन्तर विस्तार भइरहेको उल्लेख गरेको छ।

उत्तरी चीनको थ्यानचिन नगरपालिकास्थित समुद्री पानी नुन हटाउने तथा बहुउद्देश्यीय उपयोग संस्थानका निर्देशक सियाङ वेनसीका अनुसार चीनमा हाल १६७ वटा समुद्री पानी नुन हटाउने परियोजना सञ्चालनमा छन्। ती परियोजनाको कुल क्षमता दैनिक ३० लाख ७७ हजार टन पुगेको छ।

त्यस्तै, औद्योगिक चिस्याउने प्रयोजनका लागि प्रयोग हुने समुद्री पानीको वार्षिक मात्रा १ खर्ब ९३ अर्ब ३६ करोड टन पुगेको छ। यो सन् २०२० को तुलनामा ८६.४ प्रतिशतले बढी हो।

सियाङका अनुसार चीनले सन् २०२६ देखि २०३० सम्मको १५औँ पञ्चवर्षीय योजना अवधिमा सम्बन्धित प्रविधि र उपकरणको स्तरोन्नति अघि बढाउनेछ। साथै, समुद्री पानीबाट रणनीतिक तत्व निकाल्ने प्रविधिगत आधार तयार पार्ने र भविष्यका लागि प्राविधिक भण्डार निर्माण गर्ने लक्ष्य लिएको छ।

समुद्री पानीको बहुउपयोग, खनिज स्रोत निकासी र नुन हटाउने प्रविधिको विकासले चीनको जलस्रोत व्यवस्थापन, ऊर्जा सुरक्षा, औद्योगिक आधुनिकीकरण र हरित विकासलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button