२२ भाद्र २०८३, सोमबार

सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाउने तयारी

काठमाडौं । रिक्त रहेको गृह मन्त्रालयमा पुनः सुधन गुरुङलाई नियुक्त गर्ने तयारी गरिएको छ। उनको सम्पत्तिबारे गरिएको छानबिन प्रतिवेदन मन्त्रिपरिषद् बैठकमा पेस भएपछि प्रधानमन्त्री बालेन शाहले गुरुङलाई पुनः गृह मन्त्रालयमा फर्काउने तयारी गरेका हुन्।

गुरुङलाई आज दिउँसो ३ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ।

सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि गुरुङले गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि गठन गरिएको छानबिन समितिले जेठ २२ गते प्रधानमन्त्री शाहसमक्ष प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनमा सांसद गुरुङबाट कुनै ठूलो गल्ती वा गम्भीर कमजोरी नदेखिएको उल्लेख गरिएको जनाइएको छ।

प्रतिवेदन मन्त्रिपरिषद् बैठकमा पेस भएपछि गुरुङलाई पुनः मन्त्री बनाउने प्रक्रिया अघि बढाइएको हो। गृह मन्त्रालय लामो समय रिक्त रहँदा सुरक्षा प्रशासन र राजनीतिक व्यवस्थापनका विषयमा सरकारमाथि दबाब बढ्दै गएको थियो।

यसैबीच, प्रतिवेदन तयार पार्ने प्रक्रियामा महालेखा नियन्त्रक शोभाकान्त पौडेलको निर्णायक भूमिका रहेको चर्चा पनि बाहिरिएको छ। पौडेलले अर्थसचिवको जिम्मेवारीमा रुचि देखाएको बताइएको छ। तर, मुख्यसचिव सुमन अर्यालले प्रतिवेदन बुझेलगत्तै आफूले रोजेको मन्त्रालय लिन खोज्दा बाहिर राम्रो सन्देश नजाने भन्दै केही समय धैर्य गर्न सुझाव दिएको स्रोतले जनाएको छ।

गुरुङको पुनर्नियुक्ति भएपछि गृह प्रशासनमा रोकिएका केही महत्वपूर्ण निर्णय र सुरक्षा समन्वयसम्बन्धी काम अघि बढ्ने अपेक्षा गरिएको छ। यद्यपि, उनको सम्पत्ति छानबिन र पुनर्नियुक्तिको राजनीतिक सन्देशबारे भने सत्ता पक्ष र विपक्षी दलबीच थप बहस हुने देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button