भैरहवामा आईएनआई सिनेमाजको नयाँ मल्टिप्लेक्स सञ्चालन

भैरहवा । रूपन्देहीको सिद्धार्थनगरस्थित भाटभटेनी सुपरस्टोरमा अत्याधुनिक सुविधा सम्पन्न आईएनआई सिनेमाज सञ्चालनमा आएको छ। भाटभटेनी सुपरस्टोरको पाँचौँ तलामा स्थापना गरिएको यो मल्टिप्लेक्स औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।
बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वारका रूपमा चिनिने भैरहवामा पछिल्ला वर्षहरूमा पर्यटन, होटल, व्यापार तथा सेवा क्षेत्र विस्तार हुँदै गएका छन्। यही परिवेशमा आधुनिक मनोरञ्जन पूर्वाधारका रूपमा आईएनआई सिनेमाज थपिएको हो। नयाँ हलले भैरहवा तथा आसपासका दर्शकलाई गुणस्तरीय सिनेमा अनुभव उपलब्ध गराउने अपेक्षा गरिएको छ।
हलका संरक्षक तथा व्यवसायी दीपक कुँवरले भैरहवा तीव्र रूपमा विकसित हुँदै गएको व्यावसायिक तथा पर्यटन केन्द्र भएकाले आधुनिक सिनेमा हलको आवश्यकता महसुस गरी लगानी गरिएको बताए। उनका अनुसार मल्टिप्लेक्स सञ्चालनले मनोरञ्जन क्षेत्रसँगै स्थानीय अर्थतन्त्र र रोजगारी प्रवर्द्धनमा पनि योगदान पुर्याउनेछ।
कम्पनीका निर्देशक आभाष कुँवरले विदेशमा हासिल गरेको अनुभवलाई नेपालमा उपयोग गर्दै आधुनिक मनोरञ्जन क्षेत्रको विकासमा योगदान गर्ने उद्देश्यले भैरहवामा नयाँ मल्टिप्लेक्स सञ्चालन गरिएको बताए। उनले यसबाट युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न सकिने सन्देश दिन खोजिएको उल्लेख गरे।
सञ्चालकका अनुसार भाटभटेनीस्थित मल्टिप्लेक्समा दुईवटा अत्याधुनिक अडिटोरियम छन्। प्रत्येक अडिटोरियममा १९८ सिट क्षमता रहेको छ। कुल ३९६ दर्शकले एकैपटक सिनेमा हेर्न सक्ने व्यवस्था गरिएको छ।
हलमा बेल्जियममा निर्मित बार्को लेजर प्रोजेक्टर, १६ च्यानल डीटीएस एक्स इमर्सिभ साउण्ड सिस्टम तथा आधुनिक सिटिङ सुविधा जडान गरिएको जनाइएको छ। आईएनआई सिनेमाजका सञ्चालक सुरेन्द्र थापाका अनुसार यी प्रविधिले दर्शकलाई अन्तर्राष्ट्रिय स्तरको सिनेमा अनुभव प्रदान गर्नेछ।
सुरक्षा व्यवस्थालाई पनि प्राथमिकता दिइएको छ। हलमा आगलागी प्रतिरोधी सामग्री, आकस्मिक बहिर्गमन मार्ग तथा अन्य आवश्यक सुरक्षा पूर्वाधारको व्यवस्था गरिएको सञ्चालकले बताएका छन्।
सन् २०१९ मा स्थापना भएको आईएनआई सिनेमाजले हालसम्म काठमाडौं, बुटवल, सिमरा, नवलपुरलगायत विभिन्न स्थानमा मल्टिप्लेक्स सञ्चालन गर्दै आएको छ। भैरहवामा नयाँ शाखा सञ्चालनमा आएसँगै कम्पनीको कुल स्क्रिन संख्या १३ पुगेको छ।
आईएनआई सिनेमाज व्यवस्थापनले भैरहवा, तिलोत्तमा, बुटवल तथा आसपासका क्षेत्रका दर्शकबाट सकारात्मक साथ र सहयोग प्राप्त हुने अपेक्षा गरेको छ। कम्पनीका अनुसार सिनेमाका टिकट वेबसाइट तथा डिजिटल भुक्तानी माध्यमबाट समेत खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
भैरहवामा सञ्चालनमा आएको नयाँ मल्टिप्लेक्सले लुम्बिनी प्रदेशको मनोरञ्जन, सेवा व्यवसाय र पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।




