रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टीको धनुषा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ। पार्टीको केन्द्रीय अनुशासन आयोगले जिल्ला सभापति लक्ष्मेश्वर यादवलाई कारबाही गर्दै पदबाट निलम्बन गरेपछि आजका लागि तय गरिएको अधिवेशन स्थगित भएको हो।
सोमबार सभापति यादवलाई पदीय जिम्मेवारीबाट मुक्त गरिएको पत्र पठाइएपछि अधिवेशन विवादमा परेको थियो। आज खुला सत्र सुरु गर्ने तयारी भइरहेका बेला जिल्ला पर्यवेक्षक बेचन यादवले अधिवेशनको मञ्चमा चढेर चरित्र हत्या गरेर अधिवेशन गर्न नदिने बताएका थिए।
सभापति यादवमाथि गरिएको कारबाहीको विषयलाई लिएर चुनाव हुन नदिने अडान आएपछि खुला सत्रसमेत सुरु हुन सकेन। त्यसपछि अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको हो।
केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले पठाएको पत्रमा सभापति यादवविरुद्ध पार्टीको विधान, आचारसंहिता, कार्यविधि, निर्वाचनसम्बन्धी व्यवस्था तथा पार्टीको मूल्य–मान्यता र हितअनुकूल जिम्मेवारी निर्वाह गर्न नसकेको आरोप उल्लेख छ।
पत्रमा अनावश्यक पदीय हस्तक्षेप गरेको, समूहगत राजनीतिलाई बढावा दिएको लगायतका विषयमा विभिन्न समयमा उजुरी परेको जनाइएको छ। ती उजुरीमाथि अनुसन्धान, प्रमाण संकलन र विश्लेषणका आधारमा निर्णय गर्नुपर्ने भएकाले अर्को पत्र प्राप्त नभएसम्म यादवलाई पदीय जिम्मेवारीबाट मुक्त गरिएको आयोगले जनाएको छ।
रास्वपाको मधेस प्रदेशका विभिन्न जिल्लामा जारी अधिवेशन प्रक्रियामा विवाद देखिएको छ। केही जिल्लामा खुला सत्र सम्पन्न भए पनि बन्द सत्रमा विवाद उत्पन्न हुँदा अधिवेशन रोकिएको छ भने केही स्थानमा खुला सत्रसमेत सुरु हुन सकेको छैन।
धनुषाको पछिल्लो घटनाले पार्टीभित्रको आन्तरिक अनुशासन, नेतृत्व चयन प्रक्रिया र समूहगत विवादलाई थप सतहमा ल्याएको छ।





