प्रधानमन्त्री संसद जान तयार छन् : सरकारका प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित हुन कुनै अप्ठ्यारो नरहेको बताएका छन्।
मंगलबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता पोखरेलले आवश्यक परे प्रधानमन्त्री संसदमा उपस्थित भई सम्बोधन गर्ने बताए।
उनका अनुसार प्रधानमन्त्री यसअघि पनि आवश्यक ठानेर संसदमा उपस्थित भएका थिए। तर, विपक्षी दलहरूबाट अपेक्षाअनुसार प्रश्न नआएको भन्दै उनले प्रधानमन्त्रीलाई संसदमा जान कुनै समस्या नरहेको दाबी गरे।
“प्रधानमन्त्रीलाई संसद्मा जान कुनै अप्ठ्यारो छैन। आवश्यक परे प्रधानमन्त्रीज्यूले संसदमा सम्बोधन गर्नुहुन्छ,” पोखरेलले भने।
विपक्षी दलहरूले प्रधानमन्त्री शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिको जवाफ माग गर्दै संसद् अवरुद्ध गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने अडान राखेका छन्।
प्रवक्ता पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि लागेको आरोपबारे पनि सरकारको धारणा सार्वजनिक गरे। उनले अर्थमन्त्रीले मेहनतपूर्वक बजेट ल्याएको भन्दै सरकारको पूर्ण समर्थन रहेको बताए।
अर्थमन्त्री वाग्लेमाथि स्वार्थ समूहको प्रभावमा करका दर हेरफेर गरेको आरोप लाग्दै आएको छ। विपक्षी दलहरूले कर नीतिमा गरिएको फेरबदलको छानबिन गर्नुपर्ने माग गर्दै आएका छन्।
तर, प्रवक्ता पोखरेलले कर नीति फेरबदलसम्बन्धी विषय मन्त्रिपरिषद बैठकमा नउठेको जानकारी दिए। “अर्थमन्त्रीज्यूले एकदमै मेहनत गरेर बजेट ल्याउनुभएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ,” उनले भने।
अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसद्मा पेस गरेपछि करका दर हेरफेर गरिएको विषयलाई लिएर राजनीतिक विवाद चर्किएको छ। विपक्षी दलहरूले यसमा स्वार्थ समूहको मिलेमतो हुन सक्ने भन्दै छानबिनको माग गरेका छन्।





