प्रधानमन्त्रीको सीमा अभिव्यक्ति अपरिपक्व : उपेन्द्र यादव

नेपालगञ्ज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्ति अपरिपक्व भएको बताएका छन्।
अवधि पत्रकार संघले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले प्रधानमन्त्रीले राष्ट्रिय सीमा जस्तो संवेदनशील विषयमा सत्य, तथ्य र ऐतिहासिक प्रमाणका आधारमा मात्र बोल्नुपर्ने बताए।
“अहिलेसम्म भारतले समेत नभनेको कुरा भनेर प्रधानमन्त्रीले अपरिपक्वता देखाए। यस्ता भनाइले मुलुकलाई अप्ठ्यारोमा पार्छ,” यादवले भने।
उनले सरकारले सय रुपैयाँभन्दा बढीका सामानमा भन्सार लगाउने, विकल्पबिना सुकुम्बासी हटाउने र ५० युनिटभन्दा बढी बिजुली खपतमा अतिरिक्त कर लगाउने निर्णय अलोकतान्त्रिक भएको टिप्पणी गरे।
लुम्बिनी प्रदेशमा जसपाको नाममा भण्डारीलाल अहिरलाई मन्त्री बनाइएको विषयमा पनि यादवले गम्भीर आपत्ति जनाए। सर्वोच्च अदालतले अशोक राई नेतृत्वको पार्टीलाई वैधानिकता नदिएपछि त्यसतर्फ गएका सांसदहरू पनि जसपा नेपालकै सांसद भएको उनको दाबी थियो।
यादवले लुम्बिनी प्रदेशमा जसपाको नाममा मन्त्री बनाउँदा पार्टीसँग परामर्श नगरिएको बताए। “जसपा नेपालका कुन सांसदलाई मन्त्री बनाउने भन्ने निर्णय पार्टीले गर्छ। कुनै व्यक्तिलाई टिपेर मन्त्री बनाउनु बहुदलीय व्यवस्था र लोकतान्त्रिक संस्कारविपरीत हो,” उनले भने।
उनका अनुसार सर्वोच्च अदालतको पूर्ण पाठ आएपछि पार्टीले कानुनी उपचार खोज्नेछ।
अवधि पत्रकार संघका अध्यक्ष राकेश मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा जसपा नेपालका सचिव कमरुदिन राई, प्रदेश सांसद अम्बिका काफ्लेलगायतको उपस्थिति थियो।





