प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विपक्षीको संसद अवरोध जारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले मंगलबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जारी राखेका छन्।
बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भई अभिव्यक्तिबारे स्पष्ट जवाफ दिनुपर्ने र माफी माग्नुपर्ने माग गरेका थिए।
प्रधानमन्त्री शाहले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइलाई विपक्षी दलहरूले आपत्तिजनक र तथ्यहीन भन्दै आएका छन्।
विपक्षी दलहरूले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्ने, संसद्मा जवाफ दिनुपर्ने र विवादित भनाइ सच्याउनुपर्ने माग राख्दै आएका छन्।
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले लगातार विरोध जनाउँदै आएका छन्।
सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले प्रमाणसहित स्पष्ट धारणा राख्नुपर्ने विपक्षी दलहरूको भनाइ छ। उनीहरूले प्रधानमन्त्रीबाट जवाफ नआएसम्म संसद् अवरोध जारी रहने चेतावनी दिएका छन्।




