विपक्षी दलको अडान : प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

काठमाडौं — प्रतिनिधि सभामा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिलाई राष्ट्रघाती ठहर गर्दै संसद्को गतिरोध अन्त्यका लागि माफी माग्नुपर्ने अडान राखेका छन्।
मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भएको संयुक्त बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिहरूले छलफल गरेका थिए। बैठकमा श्रम संस्कृति पार्टी सहभागी भएन।
नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले बैठकपछि सञ्चारकर्मीहरूसँग भने, प्रधानमन्त्रीले संसद्को रोस्टमबाट ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनी दिएको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको, समस्त नेपालीको शीर निहुराएको र नेपालको सार्वभौमसत्तामाथि गम्भीर प्रहार भएको उल्लेख गरेका छन्।
विपक्षी दलहरूले प्रधानमन्त्रीले उक्त भनाइ तत्काल फिर्ता लिनु पर्ने, देशवासीसँग माफी माग्नु पर्ने र संसद्को अभिलेखबाट हटाउनु पर्ने अडान राखेका छन्। उनले भने, “प्रधानमन्त्रीले यो अभिव्यक्ति फिर्ता लिने र सरकार जिम्मेवार बन्ने हो भने मात्र संसद्को गतिरोध हट्ने संकेत देखिन्छ।”
विपक्षी दलहरू संवादका लागि भने खुला रहेको बताएका छन् र आगामी सर्वपक्षीय बैठकमा सहभागी भई आफ्नो धारणा राख्ने तयारीमा छन्।





