गुरुङको पुनरागमनप्रति एमालेको आपत्ति

काठमाडौं — नेकपा एमालेले सुधन गुरुङको पुनः गृहमन्त्रीमा नियुक्तिलाई सुशासनप्रतिको भद्दा मजाक भनेको छ।
मंगलबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले गुरुङको पुनरागमनप्रति आपत्ति जनाए। उनले सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा पुरानै, विवादास्पद र जनस्तरबाट अस्वीकार गरिएको शैली अपनाएको आरोप लगाए।
महरले गृहमन्त्रीको सम्पत्ति विवरण र त्यससँग जोडिएका विषयमा प्रश्न उठेपछि सरकारले आफ्नै मातहतमा छानबिन संयन्त्र बनाएको भन्दै त्यसले निष्पक्ष परिणाम दिन नसक्ने बताए। उनका अनुसार आरोप लागेका विषयमा सरकारले आफैं आयोग गठन गर्ने, म्यान्डेट दिने र त्यसैमार्फत सफाइ खोज्ने प्रवृत्ति सुशासनको मर्मविपरीत छ।
उनले भने, “सरकार आफैं धामीझाँक्री र आफैं बोक्सी बन्ने शैलीमा अघि बढेको देखिन्छ। यो सुशासनको भद्दा नमूना हो।”
एमालेले अर्थ मन्त्रालयसँग जोडिएका पछिल्ला विवादहरूमा पनि गम्भीर प्रश्न उठाएको छ। बिवाइडी गाडी आयातमा भएको भनिएको कर छली र आर्थिक विधेयकमा करका दर हेरफेर भएको विषयलाई एमालेले नीतिगत भ्रष्टाचार र राज्यविरुद्धको गम्भीर अपराधका रूपमा व्याख्या गरेको छ।
विपक्षी दलहरूले सरकारद्वारा गठित छानबिन संयन्त्र निष्पक्ष हुन नसक्ने भन्दै संसद्मार्फत उच्चस्तरीय छानबिन हुनुपर्ने अडान राखेका छन्।





