दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले २०५८ सालको दरबार हत्याकाण्डसम्बन्धी फाइल पुनः खोल्ने निर्णय गरेका छन्।
मंगलबार साँझ गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले दरबार हत्याकाण्डको फाइल पुनः अध्ययन तथा अनुसन्धानका लागि अघि बढाउने निर्णय गरिएको सञ्चारकर्मीहरूलाई जानकारी दिए।
४७ दिनपछि पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किएका गुरुङले पदभार सम्हालेलगत्तै केही महत्वपूर्ण निर्णयहरू अघि सारेका हुन्। उनले जेनजी आन्दोलनका क्रममा फौजदारी अभियोग लगाइएका व्यक्तिहरूको मुद्दा फिर्ता लिन मिल्ने–नमिल्ने विषयमा अध्ययन गर्ने निर्णयसमेत गरेका छन्।
गृहमन्त्री गुरुङले केन्द्रीय अनुसन्धान ब्युरोलाई थप सशक्त बनाउने, छानबिनमा रहेका अनुसन्धान प्रक्रियाहरूलाई निष्कर्षमा पुर्याउने र आवश्यक सबै फाइल क्रमशः खोल्दै जाने बताए।
यसअघि वैशाख ९ गते गृह मन्त्रालयबाट राजीनामा दिएका गुरुङले सो पदमा २६ दिन काम गरेका थिए। राजीनामापछि ४७ दिनको अन्तरालमा उनी पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका हुन्।





