एनसेल डाटा सेन्टरलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित प्रमाणीकरण

काठमाडौं । ललितपुरको नख्खुमा सञ्चालित एनसेलको अत्याधुनिक इन्टिग्रेटेड डाटा सेन्टरले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘एएनएसआई/टीआईए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रक्टेड फसिलिटी सर्टिफिकेशन’ प्राप्त गरेको छ।
एनसेल बिजनेसले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो डाटा सेन्टरले उक्त अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको जनाएको हो। कम्पनीका अनुसार यो प्रमाणीकरण प्राप्त गर्ने एनसेल डाटा सेन्टर नेपालकै पहिलो डाटा सेन्टर हो। यसले डाटा सेन्टरको विश्वसनीयता, सुरक्षा, गुणस्तर र सेवा निरन्तरताको उच्च मापदण्डलाई पुष्टि गरेको छ।
सरकारद्वारा सूचीकृत यो डाटा सेन्टर नेपालकै पहिलो सरकारी मान्यता प्राप्त डाटा सेन्टर तथा क्लाउड सेवा प्रदायकसमेत बनेको कम्पनीले जनाएको छ।
‘रेटिङ थ्री’ प्रमाणीकरणले एनसेल डाटा सेन्टरको पूर्वाधार संवेदनशील तथा अत्यावश्यक डिजिटल सेवा अवरोधबिना सञ्चालन गर्न सक्षम रहेको देखाउँछ। पूर्ण अतिरिक्त विद्युत् आपूर्ति, कुलिङ प्रणाली र नेटवर्क पूर्वाधारका कारण पूर्वनिर्धारित मर्मत वा आकस्मिक अवस्थामा पनि ९९.९८२ प्रतिशतसम्म सेवा निरन्तरता अर्थात् अपटाइम कायम गर्न सकिने कम्पनीको दाबी छ।
यस डाटा सेन्टरको मूल्याङ्कन टेलिकम्युनिकेशन इन्डष्ट्री एसोसिएसनबाट अधिकारप्राप्त संस्था डाटा सेन्टर मिडिया एलएलपीले गरेको हो।
एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यो उपलब्धिलाई एनसेल र नेपाल दुवैका लागि महत्त्वपूर्ण कोशेढुङ्गा भएको बताएका छन्। उनले नेपालमै अन्तर्राष्ट्रिय स्तरको डिजिटल पूर्वाधार उपलब्ध गराउन एनसेल प्रतिबद्ध रहेको उल्लेख गर्दै संवेदनशील क्षेत्रका ग्राहकहरूले अब नेपालमै होस्ट गरिएका सुरक्षित र भरपर्दो सेवामा विश्वास गर्न सक्ने बताए।
उनका अनुसार यस्तो पूर्वाधारले सरकारको डिजिटल रूपान्तरण अभियानलाई समेत सहयोग पुर्याउनेछ।
एनसेल डाटा सेन्टरले सूचना सुरक्षा र गोपनीयताका लागि अन्तर्राष्ट्रिय अभ्यासअनुसारका आईएसओ २७००१ र आईएसओ २७७०१ प्रमाणीकरण पनि प्राप्त गरिसकेको छ। त्यस्तै, कम्पनीसँग गुणस्तरीय सेवा र वातावरणीय व्यवस्थापनका लागि आईएसओ ९००१ र आईएसओ १४००१ प्रमाणीकरणसमेत रहेको छ।
कम्पनीका अनुसार यी प्रमाणीकरणहरूले डाटा सुरक्षा, सुशासन, सेवा गुणस्तर र वातावरणीय जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएका छन्।
नयाँ उपलब्धिसँगै एनसेल बिजनेसले बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, सरकारी निकाय तथा साना–ठूला उद्योगहरूलाई सुरक्षित, भरपर्दो र निरन्तर डिजिटल सेवा उपलब्ध गराउने क्षमता थप विस्तार गरेको छ।
यसले बैंकिङ कारोबार, अनलाइन सेवा र अन्य संवेदनशील प्रणालीमा हुन सक्ने डाउनटाइमको जोखिम घटाउने विश्वास गरिएको छ। बलियो ब्याकअप प्रणालीका कारण प्राकृतिक विपत्ति वा साइबर आक्रमणका अवस्थामा पनि व्यवसाय निरन्तर सञ्चालन गर्न सहयोग पुग्ने कम्पनीको भनाइ छ।
एनसेलको यो उपलब्धिले नेपालको डाटा सार्वभौमिकता बलियो बनाउने, स्वदेशमै सुरक्षित डिजिटल पूर्वाधार विकास गर्ने र विदेशी पूर्वाधारमाथिको निर्भरता घटाउने अपेक्षा गरिएको छ।




