२७ जेष्ठ २०८३, बुधबार

इनड्राइभ नेपालमा पाँच वर्ष पूरा, ‘दबाबरहित ड्राइभ’ अभियान सुरु

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो सेवा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ।

यस अवसरमा कम्पनीले नेपालका राइड–हेलिङ चालक समुदायका लागि पारदर्शी कमाइ, स्वतन्त्र रोजाइ र लचिलो कार्यवातावरण सुनिश्चित गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।

पाँचौँ वार्षिकोत्सवका अवसरमा इनड्राइभले चालक केन्द्रित मोडेल र काम गर्ने स्वतन्त्रतालाई मुख्य आधार बनाउँदै “इनड्राइभसँग आफ्नै रोजाइमा छैन दबाब” अर्थात् “ड्राइभ विदाउट प्रेसर” अभियान सार्वजनिक गरेको छ।

सन् २०२६ को जुनदेखि अगस्टसम्म सञ्चालन हुने यो अभियानले व्यावसायिक चालकहरूको दैनिक जीवन, काम गर्ने शैली र उनीहरूले कहिले तथा कसरी काम गर्ने भन्ने विषयमा नियन्त्रण पाउनुको महत्त्वलाई उजागर गर्ने कम्पनीले जनाएको छ।

नेपालमा सेवा सुरु गरेदेखि नै इनड्राइभले ‘पियर–टु–पियर’ मोडेलमा काम गर्दै आएको छ। यस मोडेलमार्फत चालक र यात्रीले एपमार्फत सिधै भाडा प्रस्ताव र सहमति गर्न सक्छन्। कम्पनीका अनुसार यस प्रणालीले चालकहरूलाई यात्रा छनोट, काम गर्ने समय र कमाइका विषयमा बढी स्वायत्तता प्रदान गर्छ।

अभियानबारे बोल्दै इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जिमी राईले विगत पाँच वर्षदेखि चालकहरूले दीर्घकालीन रूपमा भरोसा गर्न सक्ने प्लेटफर्म निर्माणमा कम्पनी केन्द्रित रहेको बताइन्।

उनले चालकहरूले लचिलोपन, पारदर्शिता र आफ्नो व्यक्तिगत तथा व्यावसायिक जीवनअनुकूल निर्णय गर्न पाउने अधिकारलाई महत्त्व दिने उल्लेख गर्दै सोही सिद्धान्तले नेपालमा इनड्राइभको सञ्चालनलाई मार्गदर्शन गरिरहेको बताइन्।

नेपालको डिजिटल यातायात अर्थतन्त्रमा धेरै चालकहरूले राइड–हेलिङलाई मुख्य आम्दानीको स्रोत बनाइरहेका बेला कम्पनीको ‘दबाबरहित’ सन्देश सान्दर्भिक बनेको छ।

यसै अभियानअन्तर्गत इनड्राइभले “होमकमिङ मिटर” पनि प्रस्तुत गर्ने भएको छ। यस पहलमा वैदेशिक रोजगारीबाट फर्किएर नेपालमै इनड्राइभमार्फत जीविकोपार्जन गरिरहेका नेपाली चालकहरूको प्रेरक कथा समेटिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो पहल देशभित्रै रोजगारी, आर्थिक लचिलोपन र आयआर्जनका अवसर सिर्जना गर्ने विषयमा चलिरहेको राष्ट्रिय बहससँग पनि सम्बन्धित छ।

इनड्राइभले आगामी दिनमा पनि चालक र यात्रु दुवैका लागि पारदर्शी, लचिलो र भरपर्दो डिजिटल यातायात सेवा विस्तारमा जोड दिने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button