५ असार २०८३, शुक्रबार

ईभी आयातबारे अर्थ मन्त्रालयको स्पष्टीकरण : सबै गाडी नियमसंगत जाँचपास भएको दाबी

काठमाडौं । रसुवा र मुस्ताङ नाकाबाट भित्रिएका विद्युतीय सवारीसाधनको भन्सार जाँचपासबारे छानबिन जारी रहेका बेला अर्थ मन्त्रालयले ती सवारीसाधन नियमसंगत रूपमा नेपाल भित्रिएको स्पष्टीकरण दिएको छ।

अर्थ मन्त्रालय मातहतको भन्सार विभागले मुस्ताङको कोरला नाकाबाट भित्रिएका सवारीसाधनबारे निर्देशक भूपालराज शाक्यको संयोजकत्वमा र रसुवा नाकाबाट भित्रिएका सवारीसाधनबारे निर्देशक सुरेन्द्र पाण्डेयको संयोजकत्वमा छुट्टाछुट्टै छानबिन समिति गठन गरी अध्ययन गरिरहेको छ। दुवै समितिको अन्तिम प्रतिवेदन भने अझै सार्वजनिक भएको छैन।

तर, प्रतिवेदन आउनुअघि नै अर्थमन्त्री स्वर्णिम वाग्लेका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाले विज्ञप्ति जारी गर्दै ती विद्युतीय सवारीसाधन पुरानै र नियमित आयात प्रक्रियाबाट नेपाल भित्रिएको दाबी गरेका छन्।

विज्ञप्तिमा बजेट सार्वजनिक हुनुअघि रसुवाबाट २ सयभन्दा बढी र कोरलाबाट ६ सय ४९ वटा विद्युतीय गाडी नेपाल भित्रिएको उल्लेख छ। ती गाडी आयात गर्ने व्यवसायीहरूले बजेट बनाउने निकायबाट भन्सार महसुल बढ्ने वा घट्ने सूचना पाएको भन्ने आरोप निराधार रहेको मन्त्रालयको भनाइ छ।

रसुवा भन्सार कार्यालयबाट लक्ष्मी ई–मोबिलिटी नामक कम्पनीले कायी ब्रान्डका गाडी आयात गरेको र ती सबै गाडीमा बजेटको व्यवस्थापछि भन्सार महसुल घटेको विज्ञप्तिमा उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार भन्सार महसुल घट्ने सूचना पहिल्यै पाएको भए आयातकर्ताले आफूलाई नोक्सान हुने गरी पुरानै महँगो दरमा गाडी भित्र्याउने थिएनन्।

यद्यपि, भन्सार जाँचपास प्रक्रियामा थप स्पष्टता ल्याउन रसुवा भन्सार कार्यालयमा संलग्न कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरी नयाँ भन्सार अधिकृत खटाइएको मन्त्रालयले जनाएको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सार्वजनिक हुनुअघि करका दर हेरफेरसम्बन्धी सूचना चुहिएको आशंकामा रसुवागढी र कोरला नाकाबाट जाँचपास गरिएका विद्युतीय सवारीसाधन सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको थियो। ती गाडी अझै छाडिएका छैनन्।

मन्त्रालयका अनुसार प्रारम्भिक अनुसन्धानमा ती सवारीसाधन बैंकमार्फत खोलिएका प्रतीतपत्र अर्थात् एलसीका आधारमा नियमित र कानुनी प्रक्रियाबाट नेपाल भित्रिएको देखिएको छ। बजेटपछि केही गाडीमा महसुल बढेको र केहीमा घटेको मन्त्रालयको भनाइ छ।

अर्थ मन्त्रालयले बजारमा विद्युतीय सवारी आयातबारे अनावश्यक अफवाह फैलिएको भन्दै प्रारम्भिक अध्ययनका आधारमा गाडीहरू नियमसंगत रूपमा भित्रिएको जनाएको छ। मन्त्रालयका अनुसार अघिल्लो वर्ष जेठ १ देखि १४ गतेसम्म ४ हजार ३ सय १७ वटा विद्युतीय गाडी नेपाल भित्रिएका थिए भने यस वर्ष सोही अवधिमा २ हजार ७ सय ६४ गाडी भित्रिएका छन्।

रसुवा नाकामा ‘यलो लेन’मा परेका वस्तुहरूको भौतिक जाँच नगरी कागजातका आधारमा भन्सार जाँचपास हुने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ। गाडी भन्सार बिन्दुमा नपुग्दै जाँचपास भएको हो वा होइन भन्ने विषयमा थप छानबिनका लागि कर्मचारीहरूको जिम्मेवारी परिवर्तन गरिएको विज्ञप्तिमा उल्लेख छ।

अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृत लम्सालले रसुवा र कोरला नाकाबारे छानबिन टोलीले मन्त्रालयलाई प्रारम्भिक जानकारी दिँदा गाडीहरू नियमसंगत रूपमा भित्रिएको देखिएको बताए। उनका अनुसार अन्तिम प्रतिवेदन आएपछि विषय अझ स्पष्ट हुनेछ।

लम्सालले बजारमा यस विषयमा द्विविधा र प्रश्न उठेकाले प्रतिवेदन तयार हुनु अघि नै प्रारम्भिक अध्ययनका आधारमा मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको बताए।

अर्थमन्त्रीका स्वकीय उपसचिव ढुंगानाद्वारा जारी विज्ञप्तिअनुसार कोरला नाकाबाट बीवाईडी ब्रान्डका गाडी जेठ ८ गतेदेखि १३ गतेसम्म भन्सार जाँचपास भएर नेपाल भित्रिएका हुन्। ती सबै गाडी बीवाईडी एटो वन र एटो टु मोडेलका रहेको उल्लेख छ।

विवरणअनुसार जेठ ८ गते ५१, ९ गते १ सय १०, १० गते ९०, ११ गते २ सय ७०, १२ गते ६९ र १३ गते ५९ वटा बीवाईडी गाडी कोरला नाकाबाट नेपाल भित्रिएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button