अर्थमन्त्री वाग्लेको आरोप : संगठित अफवाह फैलाएर बदनाम गर्न खोजियो

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह फैलाएर बदनाम गर्न खोजिएको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले बजेटमाथि गम्भीर छलफल हुनुपर्ने समयमा आफूमाथि लक्षित गरी भ्रामक प्रचार गरिएको बताए।
उनले प्रतिनिधिसभामा बजेटमाथिको छलफल अघि बढ्नुपर्ने भए पनि संसद् अवरोध गरेर आफूविरुद्ध योजनाबद्ध रूपमा अफवाह फैलाइएको गुनासो गरे।
“बजेट छलफल गर्नुपर्ने प्रतिनिधिसभामा अवरोध गरेर मविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको छ,” मन्त्री वाग्लेले भने, “ममाथि लागेका ती भ्रमको जवाफ दिनकै लागि पनि म संसदीय समितिमा आएको हुँ।”
अर्थमन्त्री वाग्लेले बजेट र आफूविरुद्ध उठाइएका प्रश्नबारे संसदीय समितिमा स्पष्ट पार्ने बताएका छन्।
अहिले अर्थ समितिको बैठक जारी छ। बैठकमा अर्थमन्त्री वाग्लेले बजेटका प्रावधान, कर नीतिसम्बन्धी विषय र पछिल्ला दिनमा आफूमाथि उठेका प्रश्नबारे समितिसमक्ष आफ्नो धारणा राखिरहेका छन्।
बजेट सार्वजनिक भएपछि करका दर, विद्युतीय सवारीसाधन आयात र भन्सार प्रक्रियासम्बन्धी विषयमा विभिन्न प्रश्न उठिरहेका बेला अर्थमन्त्री वाग्लेले संसदीय समितिमार्फत आफ्नो पक्ष स्पष्ट पार्न खोजेका हुन्।





