२७ जेष्ठ २०८३, बुधबार

होल्डिङ सेन्टरमा सुकुम्वासीको पीडा : असुरक्षा, दुर्व्यसन र डुबानको जोखिम

काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित गरी कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी परिवार बहुआयामिक समस्यामा परेका छन्।

दैनिक गाँस, बास र कपासको चिन्तासँगै सेन्टरभित्र बढ्दो असुरक्षा, लागुऔषध दुर्व्यसन र वर्षायामसँगै आउन सक्ने डुबानको जोखिमले उनीहरूको जीवन थप कष्टकर बनेको हो।

आश्रितहरूका अनुसार एउटै ठूलो हलभित्र सयौँ मानिस सामूहिक रूपमा बस्नुपर्दा महिला, बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी असुरक्षित महसुस गरिरहेका छन्। झ्याल–ढोका नभएको प्लास्टिकको टेन्टमा सामान्य चेनको भरमा बस्नुपर्ने बाध्यताका कारण राति ढुक्कसँग निदाउनसमेत नसकिने उनीहरूको भनाइ छ।

एक आश्रित महिलाले महिला र पुरुष एउटै ठाउँमा बस्नुपर्दा असुरक्षाको भावना बढेको बताइन्। उनले मानिसहरूको नियत थाहा नहुने भएकाले रातभर डर र त्रासमै बस्नुपर्ने अवस्था रहेको गुनासो गरिन्।

असुरक्षाकै कारण धेरै परिवारको दैनिक रोजगारीसमेत प्रभावित भएको छ। थापाथलीमा रहँदा बालबालिकालाई विद्यालय पठाएर श्रीमान्–श्रीमती दुवै काममा जान सक्ने अवस्था भए पनि अहिले टेन्ट छोडेर बाहिर निस्कनै कठिन भएको आश्रितहरूको भनाइ छ। सामान हराउने डरले परिवारका सदस्यहरू पालैपालो टेन्ट कुरेर बस्नुपर्ने बाध्यता रहेको उनीहरूले बताएका छन्।

होल्डिङ सेन्टरभित्र लागुऔषध सेवनको समस्या देखिन थालेपछि अवस्था झन् संवेदनशील बनेको छ। आश्रित परिवारका अनुसार सेन्टरभित्रै केही युवायुवतीले खुला रूपमा लागुपदार्थ सेवन गर्ने र सुई प्रयोग गर्ने गरेका छन्। केही दिनअघि केही युवालाई सुई प्रयोग गरिरहेको अवस्थामा फेला पारिएको बताइएको छ।

सेन्टरभित्र सुईहरू भेटिन थालेपछि महिला र बालबालिकाको सुरक्षालाई लिएर गम्भीर चिन्ता बढेको छ। अभिभावकहरूले यस्तो वातावरणले बालबालिकाको मनोविज्ञान, सुरक्षा र स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने भन्दै तत्काल नियन्त्रण र निगरानी आवश्यक रहेको बताएका छन्।

सेन्टरको मुख्य गेटमा सुरक्षाका लागि सीमित संख्यामा सुरक्षाकर्मी खटिएका छन्। त्यहाँ रहेका सुरक्षाकर्मीहरूले पनि जनशक्ति अभावका कारण प्रभावकारी निगरानी गर्न कठिन भएको बताएका छन्। भित्रिने र बाहिरिने व्यक्तिको सोधपुछ गर्दा कतिपयले आफूहरूलाई कैदीजस्तो व्यवहार गरिएको भन्दै विरोध गर्ने गरेको सुरक्षाकर्मीहरूको भनाइ छ।

महिला सुरक्षाकर्मीले पुरुषहरूको शारीरिक खानतलासी गर्न नमिल्ने भएकाले लागुपदार्थ कसरी र कहिले भित्रिन्छ भन्ने पत्ता लगाउन कठिन भइरहेको बताइएको छ।

राधास्वामी आश्रमका स्वयंसेवकहरू पनि समस्याबाट चिन्तित छन्। उनीहरूका अनुसार प्रहरीले सोधपुछ गरे पनि प्रमाण वा उजुरीबिना कसैलाई नियन्त्रणमा लिन सहज छैन। लागुऔषध प्रयोग गर्ने व्यक्तिहरूले पर्खालबाट समेत प्रतिबन्धित वस्तु भित्र्याउन सक्ने आशंका स्वयंसेवकहरूले गरेका छन्।

अर्कोतर्फ, वर्षायाम सुरु भइसकेकाले डुबानको जोखिम पनि बढेको छ। होल्डिङ सेन्टर रहेको क्षेत्र वर्षेनी डुबानमा पर्ने स्थानका रूपमा चिनिन्छ। स्थायी व्यवस्थापन नभएका कारण आश्रित परिवारहरू वर्षासँगै थप जोखिममा पर्ने चिन्तामा छन्।

हाल सरकारले त्यहाँ रहेका व्यक्तिहरूको विवरण संकलन गरिसकेको र त्यसैका आधारमा छानबिन अघि बढाएको बुझिएको छ। आश्रमका स्वयंसेवकहरूले सरकारले छिट्टै व्यवस्थापन गर्ने अपेक्षा गरेका छन्।

होल्डिङ सेन्टरमा बसिरहेका पीडितहरूले सरकारले आफूहरूलाई सुरक्षित र मर्यादित रूपमा व्यवस्थापन गर्न नसकेको गुनासो गरेका छन्। उनीहरूले होल्डिङ सेन्टर मानिसलाई ल्याएर राख्ने ठाउँ मात्र नभई त्यहाँ बस्ने महिला, बालबालिका र कमजोर अवस्थाका व्यक्तिको सुरक्षा सुनिश्चित गर्ने स्थान हुनुपर्ने बताएका छन्।

सामूहिक बसाइ, कमजोर सुरक्षा व्यवस्था, लागुऔषधको बढ्दो जोखिम र वर्षायामको डुबान सम्भावनाका कारण होल्डिङ सेन्टरको अवस्था गम्भीर बन्दै गएको छ। सम्बन्धित निकायले तत्काल सुरक्षा व्यवस्था बलियो बनाउने, दुर्व्यसन नियन्त्रण गर्ने, बालबालिका र महिलाका लागि सुरक्षित स्थान छुट्याउने तथा स्थायी व्यवस्थापनको स्पष्ट योजना अघि सार्नुपर्ने आवश्यकता देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button