वसन्तकालीन हिमाल आरोहण सकियो, सरकारलाई एक अर्ब २६ करोड राजस्व

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा सगरमाथासहित नेपालका विभिन्न हिमाल आरोहण सम्पन्न भएको छ।
यस वर्ष ६ हजार ५०० मिटरभन्दा माथिका ३१ वटा हिमाल आरोहणका लागि एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए। यी हिमाल आरोहणका लागि सरकारले कुल एक अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
पर्यटन विभागले ६ हजार ५०० मिटरभन्दा माथिका हिमाल आरोहणका लागि अनुमति दिँदै आएको छ। त्यसभन्दा कम उचाइका हिमालको अनुमति भने नेपाल पर्वतारोहण सङ्घले दिँदै आएको छ।
यस वर्ष आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १५९ जना रहेका छन्। त्यस्तै, अमेरिकाका १५२, भारतका १०१, जर्मनीका ७५, बेलायतका ७४, रुसका ७०, नेपालका ४४, क्यानडाका ४१, पोल्यान्डका ३२ र फ्रान्सका २७ आरोहीले अनुमति लिएका थिए।
पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमका अनुसार यस वर्ष सगरमाथा आरोहणका लागि मात्रै ४९५ जनाले अनुमति लिएका थिए। सगरमाथा आरोहण अनुमति लिनेमा ५६ देशका ३९० पुरुष र १०५ महिला रहेका थिए।
अनुमति प्राप्त आरोहीबाहेक आरोहीका सहयोगी तथा गाइडसहित करिब एक हजारभन्दा बढी व्यक्तिले यस वर्ष सगरमाथाको सफल आरोहण गरेको गौतमले जानकारी दिए।
यस वर्ष सगरमाथा आरोहण गर्ने विदेशी आरोहीमध्ये सबैभन्दा धेरै चीनका १०९ जना रहेका छन्। त्यसपछि अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रुसका १८, अष्ट्रेलियाका १५, जापानका १४, क्यानडाका १२, नेपालका १२ र आयरल्यान्डका ११ आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्।
यसै वसन्त ऋतुमा कामिरीता शेर्पाले ३२औँ पटक सगरमाथाको सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोडेका छन्। सोलुखुम्बुका शेर्पाले जेठ ३ गते सगरमाथाको चुचुरोमा पुगेर नयाँ कीर्तिमान कायम गरेका हुन्।
त्यस्तै, महिला आरोहीतर्फ सङ्खुवासभा मकालुकी लाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान सुधार गरेकी छन्।
सरकारले यस वर्ष सगरमाथा आरोहण अनुमतिबाट मात्रै एक अर्ब आठ करोड १० लाख ७२५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। लोत्से हिमालबाट ६ करोड ६८ लाख ७१ हजार ९९०, मकालु पहिलोबाट तीन करोड १७ लाख ८५ हजार ८००, आमादब्लमबाट एक करोड ६६ लाख नौ हजार २००, कञ्चनजङ्गाबाट एक करोड ६५ लाख ४० हजार ५०० र अन्नपूर्ण पहिलोबाट एक करोड २० लाख ४९ हजार १७५ रुपैयाँ राजस्व सङ्कलन भएको छ।
वसन्त ऋतु हिमाल आरोहणका लागि मुख्य सिजन मानिन्छ। यस वर्ष पनि सगरमाथासहित उच्च हिमालमा स्वदेशी तथा विदेशी आरोहीको उल्लेख्य उपस्थिति देखिएको छ।





