प्रतिनिधिसभा बैठक सुरु नहुँदै दिउँसो २ बजेसम्मका लागि सर्यो
बुधबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठक सुरु नै नभई दिउँसो २ बजेसम्मका लागि सारिएको छ।
निर्धारित समयभन्दा दुई घण्टा ढिलो हुँदासमेत बैठक सुरु हुन नसकेपछि संघीय संसद् सचिवालयले बैठक समय परिवर्तन भएको सूचना जारी गरेको हो।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसकेकाले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम २ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सभामुखले बैठक आजै दिउँसो २ बजे बस्ने गरी निर्धारण गरेको उल्लेख छ।
प्रतिनिधिसभामा जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादसम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिपछि विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीबाट उक्त अभिव्यक्तिबारे स्पष्ट जवाफ माग गरिरहेका छन्।





