हावाहुरीसहितको वर्षाले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–१ मा मंगलबार साँझ आएको हावाहुरीसहितको वर्षाले २० वटाभन्दा बढी घरमा क्षति पुर्याएको छ।
वडा नम्बर १ अन्तर्गत बगुवन, सिसेनीलगायतका स्थानमा हावाहुरीले घरका छाना उडाएको हो। बगुवनमा मात्रै १५ वटा घरको छाना उडाएको स्थानीय बुद्धराज विश्वकर्माले जानकारी दिए। उनका अनुसार छाना उडाएपछि घरभित्र राखिएको अन्नपात र लत्ताकपडा भिज्दा पीडित परिवार समस्यामा परेका छन्।
हावाहुरीका कारण बगुवनस्थित आधारभूत विद्यालयको खानेपानी ट्याङ्कीसमेत ढलेको छ। विद्युत् आपूर्ति अवरुद्ध हुँदा स्थानीयवासी थप समस्यामा परेका छन्।
विनय त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष दीपक पौडेलका अनुसार बगुवनमा १५, सिसेनी गाउँमा पाँच घर र अन्य स्थानमा समेत हावाहुरीले घरका छाना उडाएको छ। क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको वडाध्यक्ष पौडेलले बताए।





