सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समयावधि असार मसान्तसम्म थप गरेको छ।
आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार सम्पत्ति विवरण बुझाउनुपर्ने कतिपय व्यक्ति विदेशमा रहेका र कतिपयले आवश्यक कागजात सङ्कलन गर्न कठिनाइ भएको गुनासो गरेपछि म्याद थप गरिएको हो।
आयोगले यसअघि जेठ १ गते सूचना जारी गर्दै पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका विभिन्न पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको थियो। सो सूचनाअनुसार जेठ मसान्तसम्म विवरण बुझाइसक्नुपर्ने व्यवस्था गरिएको थियो।
तर, जेठ मसान्तको म्याद सकिन तीन दिन मात्र बाँकी रहँदा हालसम्म करिब तीन हजार ५०० जनाले मात्र सम्पत्ति विवरण बुझाएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता गणेश केसीका अनुसार सम्पत्ति विवरण बुझाउनेहरूको चाप र सहजतालाई ध्यानमा राख्दै अन्तिम पटकका लागि म्याद थप गरिएको हो। उनका अनुसार हालसम्म प्राप्त सम्पत्ति विवरणको जाँचबुझ प्रक्रिया अघि बढाउने तयारीसमेत भइरहेको छ।





