लागूऔषधसहित विभिन्न जिल्लाबाट १६ जना पक्राउ

नेपाल प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको कारबाहीका क्रममा अवैध तथा नियन्त्रित लागूऔषधसहित १६ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट खैरो हेरोइनजस्तो पदार्थ, ब्राउनसुगर, अफिम, गाँजा, ट्रामाडोल, नाइट्राभेटलगायतका लागूऔषध बरामद गरिएको छ।
काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित आकाशेपुल नजिकबाट खैरो हेरोइनजस्तो पदार्थ करिब ५०० मिलिग्राम, ट्रामाडोल ७३ ट्याब्लेट र नाइट्राभेट १२ ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन्। उनीहरूलाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले नियन्त्रणमा लिएको हो।
उदयपुरको चौदण्डीगढी नगरपालिका–६ बगरकोटमा गरिएको खानतलासीका क्रममा ट्रामाडोल २०० ट्याब्लेट र स्पास्पेन ४०० ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
बर्दियाको गुलरिया नगरपालिका–९ टेपरीबाट ब्राउनसुगरजस्तो पदार्थ ४४० मिलिग्रामसहित दुई जना पक्राउ परेका छन्। त्यस्तै, बाँकेको कोहलपुर नगरपालिका–२ स्थित पिपल चौतारा क्षेत्रबाट अफिमजस्तो पदार्थ १ किलो २० ग्रामसहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
चितवनको भरतपुर महानगरपालिका–३ मा डेरा गरी बस्दै आएका आमा–छोरालाई करिब ४ किलो ९०० ग्राम गाँजासहित पक्राउ गरिएको छ। वडा प्रहरी कार्यालय नारायणगढले कोठा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको जनाएको छ।
ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबबाट ट्रामाडोल ४२० ट्याब्लेटसहित एक जना पक्राउ परेका छन्। जुम्लाको तातोपानी गाउँपालिका–५ का एक युवकलाई ब्राउनसुगरजस्तो पदार्थ ८३० मिलिग्रामसहित पक्राउ गरिएको छ। उनी जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतमा रहेका थुनुवालाई भेट्न जाँदा जाँचका क्रममा पक्राउ परेका हुन्।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ दूधपानी खोलाबाट ब्राउनसुगरजस्तो पदार्थ ३ ग्राम २२० मिलिग्रामसहित तीन जना पक्राउ परेका छन्। उनीहरूले प्रयोग गरेको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।
त्यसैगरी, मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाबाट ब्राउनसुगरजस्तो पदार्थ करिब ५ ग्राम २१ मिलिग्रामसहित एक जना पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका सबैमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।





