२७ जेष्ठ २०८३, बुधबार

सामाजिक सञ्जालमा चिकित्सकलाई काउन्सिलको आचारसंहिता

पछिल्लो समय चिकित्सकहरूले सामाजिक सञ्जालमार्फत उपचार, रोग तथा स्वास्थ्यसम्बन्धी जानकारी दिने क्रम बढेपछि नेपाल मेडिकल काउन्सिलले चिकित्सकका लागि सामाजिक सञ्जाल प्रयोगसम्बन्धी आचारसंहिता जारी गरेको छ।

काउन्सिलले सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यममा चिकित्सकहरूले दिने सूचना, सल्लाह र अभिव्यक्तिलाई व्यवस्थित, तथ्यपरक र पेशागत मर्यादाभित्र राख्ने उद्देश्यले आठ बुँदे आचारसंहिता जारी गरेको हो।

आचारसंहिताअनुसार चिकित्सकले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका उपाधिबाहेक अन्य उपाधि प्रयोग गर्न पाउने छैनन्। औपचारिक रूपमा प्राप्त योग्यता वा विशेषज्ञताभन्दा बाहिर गएर आफ्नो नाम प्रचारप्रसार गर्नसमेत रोक लगाइएको छ।

चिकित्सकले सामाजिक सञ्जाल वा विद्युतीय सञ्चारमाध्यममा लेख्दा तथ्यपरक, सान्दर्भिक र वैज्ञानिक रूपमा स्थापित विषयवस्तु मात्र राख्नुपर्नेछ। उपचारसम्बन्धी जानकारी दिँदा प्रमाणित वैज्ञानिक तथ्यमा आधारित हुनुपर्ने र वैज्ञानिक रूपमा स्थापित नभएका वा आफूखुशी तय गरिएका उपचार विधिलाई प्रचार गर्न नपाइने काउन्सिलले जनाएको छ।

कुनै बिरामीको रोग वा स्वास्थ्य अवस्थासम्बन्धी जानकारी सार्वजनिक गर्नुपरेमा सम्बन्धित बिरामीको अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, चिकित्सकले आफूले दिएका सुझाव, सल्लाह वा अभिव्यक्तिको लिखित अभिलेख राख्नुपर्नेछ। कुनै रोगको निदान वा उपचार जटिल हुने देखिएमा बिरामीको भौतिक स्वास्थ्य परीक्षण गरेपछि मात्रै उपचारजन्य सुझाव दिनुपर्ने आचारसंहितामा उल्लेख छ।

अन्य व्यक्ति वा संस्थाका धारणा आलोचना गर्दा पनि तथ्यपरक ज्ञान र जानकारीमा आधारित हुनुपर्नेछ। आलोचनात्मक अभिव्यक्तिमा अपमानजनक शब्द प्रयोग गर्न नपाइने काउन्सिलले स्पष्ट पारेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button