४ असार २०८३, बिहीबार

क्यानडाको नीतिगत ब्याजदर २.२५ प्रतिशतमै स्थिर

क्यानडाको केन्द्रीय बैंक ‘बैंक अफ क्यानडा’ले नीतिगत ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ। बुधबार बसेको बैंकको बैठकले ब्याजदर २.२५ प्रतिशतमै कायम गर्ने निर्णय गरेको हो।

बैंकका गभर्नर टिफ म्याक्लेमले पत्रकार सम्मेलनमा बोल्दै कमजोर आर्थिक गतिविधि र बढ्दो मुद्रास्फीतिले मौद्रिक नीतिका लागि कठिन अवस्था सिर्जना गरेको बताए। उनका अनुसार मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउँदा अर्थतन्त्र अझ सुस्त हुनसक्ने जोखिम छ भने आर्थिक वृद्धिलाई टेवा दिन ब्याजदर घटाउँदा मूल्यवृद्धि लामो समयसम्म उच्च रहने सम्भावना रहन्छ।

यिनै जोखिमलाई सन्तुलनमा राख्न अहिले नीतिगत ब्याजदर स्थिर राखिएको म्याक्लेमले स्पष्ट पारे। तर अनिश्चितता असामान्य रूपमा बढेको भन्दै उनले परिस्थितिअनुसार मौद्रिक नीति लचक र छरितो हुनुपर्ने बताए।

म्याक्लेमका अनुसार अमेरिकाले क्यानडामाथि थप कडा व्यापारिक प्रतिबन्ध लगाएको अवस्थामा आर्थिक वृद्धिलाई सहयोग पुर्‍याउन बैंकले ब्याजदर थप घटाउनुपर्ने हुन सक्छ। त्यस्तै, मध्यपूर्वको द्वन्द्व लामो समयसम्म कायम रहेर ऊर्जाको मूल्यवृद्धि व्यापक मुद्रास्फीतिमा रूपान्तरण भएमा लगातार ब्याजदर वृद्धि गर्नुपर्ने अवस्था पनि आउन सक्ने उनले संकेत गरे।

बैंक अफ क्यानडाले जारी गरेको विज्ञप्तिअनुसार क्यानडाको आर्थिक गतिविधि कमजोर अवस्थामा रहेको छ। चालु वर्षको पहिलो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन ०.१ प्रतिशतले घटेको छ, जुन अपेक्षाभन्दा कमजोर हो।

त्यस्तै, उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति अप्रिलमा २.८ प्रतिशत पुगेको छ। बैंकले निकट अवधिमा मुद्रास्फीति करिब ३ प्रतिशत वरिपरि रहने र त्यसपछि क्रमशः घट्दै बैंकको २ प्रतिशत लक्ष्यतर्फ जाने अनुमान गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button