४ असार २०८३, बिहीबार

हर्मुज जलडमरूमध्यमा अमेरिकी सेनाले २०० भन्दा बढी व्यापारिक जहाजलाई सहयोग गरेको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिनादेखि अमेरिकी सेनाले हर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने २०० भन्दा बढी व्यापारिक जहाजलाई गोप्य रूपमा सहयोग गरेको दाबी गरेका छन्।

बुधबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उनले अमेरिकी सेनाको उक्त प्रयासका कारण १० करोड ब्यारेलभन्दा बढी तेल हर्मुज जलडमरूमध्य पार गर्दै खुला बजारमा पुगेको दाबी गरे।

ट्रम्पले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्यमा इरान नभई अमेरिकाको नियन्त्रण रहेको दाबीसमेत गरे। उनले इरानको सेना पराजित भएको र अर्थतन्त्र कमजोर अवस्थामा पुगेको टिप्पणी गर्दै “इरानका लागि सबै सकिएको” जिकिर गरेका छन्।

उनका यी अभिव्यक्ति पछिल्ला दिनहरूमा अमेरिका, इरान र इजरायलबीच बढ्दो तनावका बीच आएका हुन्। वार्ता अवरुद्ध बनेको र क्षेत्रमा सैन्य तनाव चर्किएको अवस्थामा ट्रम्पले इरानविरुद्ध आफ्नो कडा धारणा दोहोर्‍याएका हुन्।

सोमबार अमेरिकी सेनाको हेलिकोप्टर खसालिएको घटनापछि ट्रम्पले इरानमाथि आक्रमण जारी राख्न आदेश दिएको बताइएको छ। त्यसपछि क्षेत्रीय सुरक्षा, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापार मार्गको स्थिरताबारे नयाँ चिन्ता बढेको छ।

हर्मुज जलडमरूमध्य विश्व ऊर्जा व्यापारका लागि अत्यन्त संवेदनशील समुद्री मार्ग मानिन्छ। यस मार्गबाट ठूलो परिमाणमा कच्चा तेल र ऊर्जा सामग्री अन्तर्राष्ट्रिय बजारतर्फ जाने भएकाले त्यहाँ देखिने कुनै पनि सैन्य तनावले विश्व बजारमा प्रत्यक्ष असर पार्न सक्ने विश्लेषण गरिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button