४ असार २०८३, बिहीबार

यमनमा हिरासतमा रहेका संयुक्त राष्ट्रसंघीय कर्मचारीको तत्काल रिहाइ गर्न गुटेरेसको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यमनमा संयुक्त राष्ट्रसंघ तथा अन्य संस्थाका कर्मचारीहरूलाई हिरासतमा राखिएको घटनाको पुनः निन्दा गर्दै उनीहरूको तत्काल र निःशर्त रिहाइको माग गरेका छन्।

महासचिवका उपप्रवक्ता फरहान हकले बुधबार जारी गरेको वक्तव्यमा हुथी समूहद्वारा संयुक्त राष्ट्रसंघ, गैरसरकारी संस्था, नागरिक समाज संगठन तथा कूटनीतिक नियोगका कर्मचारीहरूलाई हिरासतमा राखिएको दुई वर्ष पुगेको सन्दर्भमा महासचिवको धारणा सार्वजनिक गरिएको हो।

वक्तव्यका अनुसार हालसम्म ७३ जना संयुक्त राष्ट्रसंघीय कर्मचारी मनोमानी रूपमा हिरासतमा छन्। हिरासतमा रहेका एक जना संयुक्त राष्ट्रसंघीय कर्मचारीको मृत्यु भइसकेको छ भने केही कर्मचारीहरूलाई बाहिरी सम्पर्कविहीन अवस्थामा राखिएको जनाइएको छ।

संयुक्त राष्ट्रसंघले यस्तो कार्य अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको जनाएको छ। यसले हिरासतमा रहेका व्यक्तिका परिवारलाई गहिरो पीडा दिएको र यमनभरि सहयोग आवश्यक परेका लाखौँ मानिसलाई सहायता पुर्‍याउने संयुक्त राष्ट्रसंघ तथा साझेदार संस्थाहरूको क्षमतामा गम्भीर असर पारेको वक्तव्यमा उल्लेख छ।

वक्तव्यमा संयुक्त राष्ट्रसंघीय कर्मचारीहरू, यमनका नागरिक भए पनि, आफ्नो आधिकारिक जिम्मेवारी निर्वाहका क्रममा गरेका कार्यका सम्बन्धमा कानुनी प्रक्रियाबाट उन्मुक्त हुने व्यवस्था रहेको स्मरण गराइएको छ।

महासचिव गुटेरेसले हिरासतमा रहेका कर्मचारीहरूको रिहाइ सुनिश्चित गर्न तथा मानवीय र विकाससम्बन्धी गतिविधि पुनः सञ्चालन गर्ने वातावरण बनाउन हुथी समूहसँग निरन्तर संवाद र संलग्नताको महत्वमा जोड दिएका छन्।

संयुक्त राष्ट्रसंघले हिरासतमा रहेका कर्मचारीहरूको तत्काल र सुरक्षित रिहाइका लागि सम्भव सबै उपाय अपनाइरहने जनाएको छ।

वक्तव्यमा महासचिव गुटेरेस यमनका जनताको न्यायपूर्ण र दिगो शान्तिप्रतिको आकांक्षालाई समर्थन गर्ने संयुक्त राष्ट्रसंघको प्रतिबद्धतामा अडिग रहेको उल्लेख गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button