डीआर कङ्गोमा इबोला सङ्क्रमितको संख्या ६३५ पुग्यो

प्रजातान्त्रिक गणतन्त्र कङ्गो डीआरसी मा इबोला सङ्क्रमितको संख्या ६३५ पुगेको छ। स्वास्थ्य मन्त्री रोजर काम्बाले बुधबार सामाजिक सञ्जाल एक्समार्फत जुन ९ सम्म पुष्टि भएका इबोला सङ्क्रमितको संख्या ६३५ पुगेको जानकारी दिएका हुन्।
मन्त्री काम्बाका अनुसार बुन्डिबुग्यो इबोला भाइरसका कारण फैलिएको प्रकोप अझै चुनौतीपूर्ण अवस्थामा रहे पनि प्रतिकार्य प्रयास क्रमशः प्रभावकारी बन्दै गएको छ। उपचारपछि निको हुने बिरामीको संख्या बढ्दै गएको र सङ्क्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान तथा निगरानी सुधार हुँदै गएको उनले बताए।
उनका अनुसार निगरानीमा रहेका सम्पर्क व्यक्तिको अनुपात ५६.४ प्रतिशतबाट बढेर ६१.१ प्रतिशत पुगेको छ। स्वास्थ्य अधिकारीहरूले हरेक क्षेत्र, हरेक सूचना र हरेक सम्भावित सङ्केतमाथि उच्च सतर्कताका साथ निगरानी गरिरहेको मन्त्री काम्बाले उल्लेख गरे।
उनले थप आठ जना बिरामी निको भएको जानकारी पनि दिएका छन्। तीमध्ये सात जना इटुरी प्रान्तको न्यानकुन्डे र एक जना मोङ्ब्वालुका रहेका छन्। यससँगै उपचारपछि निको हुने बिरामीको संख्या ३० पुगेको छ।
“प्रत्येक निको हुने घटनाले बलियो सन्देश दिन्छ—समयमै उपचारका लागि आउनुहोस्, प्रारम्भिक उपचारले जीवन बचाउँछ,” मन्त्री काम्बाले भने।
उनका अनुसार प्रकोप नियन्त्रणका लागि ४९० टन औषधि परिचालन गरिएको छ। प्रयोगशालाहरूलाई सुदृढ पारिएको र इटुरी, उत्तर किभु तथा दक्षिण किभु प्रान्तमा प्रतिकार्य टोलीहरू चौबीसै घण्टा परिचालित गरिएको छ।
डीआरसीले पछिल्लो इबोला प्रकोप मे १५ मा घोषणा गरेको थियो। त्यसको दुई दिनपछि, मे १७ मा विश्व स्वास्थ्य सङ्गठनले यो प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको थियो।





