४ असार २०८३, बिहीबार

गाजावासीको माग : युद्ध अन्त्य र पुनर्निर्माणको बाटो

गाजामा युद्धपछिको शासन व्यवस्था, सुरक्षा प्रबन्धलगायत विषयमा प्यालेस्टिनी समूहहरू र इजिप्ट, कतार तथा टर्कीका मध्यस्थकर्ताहरूबीच कायरोमा छलफल भइरहेका बेला गाजावासीहरूले भने आफ्नो पहिलो प्राथमिकता युद्धको अन्त्य र जीवन पुनर्निर्माणको अवसर भएको बताएका छन्।

शनिबारदेखि सुरु भएको वार्तामा हमाससहित अन्य प्यालेस्टिनी समूह सहभागी छन्। सन् २०२५ अक्टोबर १० देखि युद्धविराम लागू भए पनि त्यसयता ९०० भन्दा बढी प्यालेस्टिनी मारिएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। गाजाका ठूला भूभाग अझै भग्नावशेषमा परिणत भएका छन्।

गाजा सहरको पश्चिमतर्फ पालमा बस्दै आएका ५७ वर्षीय अब्दुल अजिज अल–शान्तीले वर्षौँको युद्ध, विस्थापन र अनिश्चितताले जनता अत्यन्तै थाकिसकेको बताए। उनका अनुसार कायरो बैठकपछि अब गाजाको भविष्य कुन दिशामा जाने भन्ने निर्धारण हुन सक्ने भएकाले धेरैले ती छलफललाई नजिकबाट हेरिरहेका छन्।

“हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण कुरा युद्ध अन्त्य हुनु र मानिसहरूलाई आफ्नो जीवन फेरि बनाउने अवसर दिनु हो,” उनले भने।

तीन सन्तानकी आमा ४० वर्षीया सामिहा बशिरले आफू खाद्यान्न सहयोगका लागि घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था रहेको बताइन्। उनका पति युद्धका क्रममा मारिएका थिए। उनले कायरो वार्ता महत्त्वपूर्ण भएको बताउँदै जनतालाई आशा आवश्यक रहेको उल्लेख गरिन्।

उनका अनुसार गाजावासीहरूलाई अहिले सबैभन्दा बढी युद्ध अन्त्य, घर र विद्यालयहरूको पुनर्निर्माण तथा परिवारलाई पुनः आत्मनिर्भर बन्ने अवसर चाहिएको छ।

गाजास्थित राजनीतिक विश्लेषक अहद फेरवानाले गाजाको मानवीय संकट यस्तो विन्दुमा पुगेको बताए, जहाँ धेरै बासिन्दाले युद्ध अन्त्यलाई अत्यावश्यक ठानेका छन्। उनका अनुसार कायरो वार्ता बाँकी विवादित विषयहरू सम्बोधन गर्ने महत्त्वपूर्ण अवसर हो।

फेरवानाले दिगो व्यवस्थाका लागि राजनीतिक यथार्थसँगै युद्धको सबैभन्दा ठूलो भार खेपिरहेका नागरिकहरूको आवश्यकता पनि गम्भीर रूपमा ध्यानमा राखिनुपर्ने बताए।

अर्का राजनीतिक विश्लेषक मुस्तफा इब्राहिमका अनुसार कायरो बैठकमा गाजाको भावी प्रशासन र व्यापक सुरक्षा व्यवस्थासम्बन्धी विषयहरू छलफल भइरहेका छन्, जुन दीर्घकालीन समाधानका प्रमुख चुनौतीमध्येका हुन्।

उनले मध्यस्थताको प्रयास सफल भए पुनर्निर्माण परियोजना, आर्थिक पुनरुत्थान र सार्वजनिक सेवाहरू पुनः सञ्चालनका लागि आवश्यक वातावरण बन्न सक्ने बताए।

“समझदारीमा पुग्न सजिलो छैन, तर वर्तमान अवस्था अनिश्चितकालसम्म जारी रहन सक्दैन भन्ने बुझाइ धेरै पक्षमा बढ्दै गएको छ,” इब्राहिमले भने।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button