हर्मुज नजिक ट्याङ्करमा आक्रमण, तीन नाविक बेपत्ता

अन्तर्राष्ट्रिय समुद्री संगठन आईएमओ ले हर्मुज जलडमरूमध्य नजिकै एक तेल ट्याङ्करमाथि भएको आक्रमणको कडा निन्दा गरेको छ। उक्त घटनापछि तीन जना नाविक बेपत्ता भएको जनाइएको छ।
आईएमओले बुधबार जारी गरेको वक्तव्यअनुसार पलाउको झन्डा बोकेको एमटी सेट्टेबेलो नामक ट्याङ्कर ओमानको तटीय क्षेत्र नजिक प्रक्षेप्य वस्तुले प्रहार गरेपछि आगलागीमा परेको थियो।
आईएमओका महासचिव आर्सेनियो डोमिन्गेजले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै नाविकहरूको जीवन र अन्तर्राष्ट्रिय समुद्री यातायातको सुरक्षामा खतरा पुर्याउने कुनै पनि कार्य अस्वीकार्य भएको बताएका छन्।
यसैबीच, अमेरिकी सेनाको सेन्ट्रल कमान्ड ९सेन्टकम० ले बुधबार छुट्टै वक्तव्य जारी गर्दै अमेरिकी सेनाले मंगलबार राति ओमानको खाडीमा उक्त ट्याङ्करलाई निष्क्रिय पारेको जनाएको छ। सेन्टकमका अनुसार अमेरिकी सेनाको विमानले चालक दलले बारम्बार अमेरिकी सेनाको निर्देशन पालना नगरेपछि जहाजको इन्जिन कोठामा लक्षित प्रहार गरेको थियो।
आईएमओका महासचिव डोमिन्गेजले नाविक, नागरिक जहाज र स्वतन्त्र समुद्री आवागमनको सुरक्षा सधैँ कायम हुनुपर्नेमा जोड दिएका छन्। अन्तर्राष्ट्रिय समुद्री यातायातमा असर पार्ने सबै कार्य अन्तर्राष्ट्रिय कानुन र समुद्री जीवन सुरक्षासम्बन्धी मापदण्डअनुसार हुनुपर्ने उनको भनाइ छ।
आईएमओले घटनाको परिस्थितिबारे पूर्ण र पारदर्शी अनुसन्धान गर्न आह्वान गरेको छ।
संगठनका अनुसार सन् २०२६ फेब्रुअरी २८ यता हर्मुज जलडमरूमध्य र आसपासका क्षेत्रमा अन्तर्राष्ट्रिय समुद्री यातायातमाथि ४३ वटा आक्रमण पुष्टि भएका छन्।





