३ असार २०८३, बुधबार

सेती पुल निर्माणको म्याद दोस्रोपटक थपियो

पोखरा । पृथ्वीराजमार्गअन्तर्गत पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती पुलको म्याद दोस्रोपटक थप गरिएको छ।

मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत निर्माणाधीन उक्त पुलको निर्माण अवधि विसं २०८३ फागुन २१ गतेसम्मका लागि थप गरिएको हो।

हालको सेती पुलको अपस्ट्रिम र डाउनस्ट्रिमतर्फ १९० मिटर लम्बाइका दुईवटा पक्की पुल निर्माणका लागि विसं २०७९ भदौ २६ गते ठेक्का सम्झौता भएको थियो। करिब एक अर्ब सात करोड रुपैयाँ लागतमा निर्माण हुने पुलको ठेक्का एम/एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले पाएको हो।

एसियाली विकास बैङ्कको ऋण सहयोगमा सडक विभागअन्तर्गत निर्माण भइरहेको पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भए पनि निर्धारित समयमा काम पूरा हुन नसकेपछि गत भदौमा पहिलोपटक म्याद थप गरिएको थियो।

मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार पुल निर्माणको भौतिक प्रगति हाल करिब ६१ प्रतिशत पुगेको छ। उनले अब निर्माणका लागि कुनै ठूलो अवरोध बाँकी नरहेकाले निर्माण कम्पनीले तीव्र गतिमा काम अघि बढाई थपिएको समयभित्र काम सम्पन्न गर्ने विश्वास व्यक्त गरे।

सेती नदीको उत्तरी किनारतर्फ रहेका जग्गाधनी तथा व्यवसायीलाई एसियाली विकास बैङ्कको नीतिअनुसार सडक पहुँच दिनुपर्ने भएपछि केही संरचना हटाउनुपर्ने अवस्था आएको थियो। सोही क्रममा दुईवटा घर भत्काउनुपर्ने भए पनि क्षतिपूर्ति र मुआब्जासम्बन्धी विषयमा सहमति हुन नसक्दा निर्माण कार्यमा ढिलाइ भएको बताइएको छ।

आयोजना प्रमुख कुँवरका अनुसार पछिल्लो समय जग्गाधनी केदार पौडेल र माधव पौडेलले मुआब्जा बुझेका छन्। उनीहरूले असार पहिलो साताभित्र संरचना खाली गर्ने प्रतिबद्धता जनाएको उनले बताए।

निर्माण कम्पनीले चीनबाट आवश्यक सामग्री ल्याउन ढिलाइ भएको, खानेपानी पाइप स्थानान्तरणलगायत प्राविधिक समस्याका कारण पनि निर्माण कार्य प्रभावित भएको थियो।

“जग्गाधनीले मुआब्जामा चित्त नबुझेको भन्दै प्रशासनले निर्धारण गरेको रकम बुझ्न मान्नुभएको थिएन, जसका कारण काममा अवरोध भएको थियो। केही दिनअघि उहाँहरूले मुआब्जा लिनुभएको छ। अब साइटमा कुनै समस्या छैन, काम रोकिने अवस्था आउँदैन,” आयोजना प्रमुख कुँवरले भने।

सेती पुलमा हालसम्म १२० वटा पाइल फाउण्डेसनको काम सकिएको छ। पाइल क्याप तथा चारवटा टावरको काम पनि पूरा भएको छ। त्यस्तै, एउटा पुलमा गर्डर र क्रस गर्डरको काम सम्पन्न भएको आयोजनाले जनाएको छ।

सेती पुल निर्माण सम्पन्न भएपछि पृथ्वीराजमार्गको पोखरा खण्डमा सवारी आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button