त्रिपालको छाप्रोबाट सुरक्षित घरमा विपन्न परिवार

म्याग्दी । मङ्गला गाउँपालिका–१ हर्कपलेका एक विपन्न परिवारका लागि गाउँपालिकाले दुई कोठे घर निर्माण गरिदिएको छ।
लामो समयदेखि त्रिपालले छाएको र कपडा तथा बोराले बारेको असुरक्षित छाप्रोमा बस्दै आएका मीमबहादुर किसानको परिवारका लागि गाउँपालिकाले स्थानीय समुदायसँग समन्वय गरेर घर निर्माण गरेको हो।
मङ्गला गाउँपालिका–१ का वडाध्यक्ष एकजित रोकाका अनुसार सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत चार लाख रुपैयाँ बजेटबाट किसान परिवारका लागि घर निर्माण गरी उपलब्ध गराइएको हो।
उनले गाउँपालिकाको बजेटसँगै पैयुपाँटा टोलका युवा तथा अगुवाहरूको सक्रियतामा घर निर्माण सम्पन्न गरिएको बताए। यसअघि विसं २०८० असार १९ गते मीमबहादुरलाई जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाइएको पनि वडाध्यक्ष रोकाले जानकारी दिए।
ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका किसानका श्रीमती र तीन छोराछोरी छन्। आर्थिक अभावका कारण आफ्नै जग्गा भए पनि उनले घर बनाउन सकेका थिएनन्। परिवार यसअघि पानी चुहिने, हावाहुरीले त्रिपाल उडाउने र असुरक्षित झुपडीमा बस्न बाध्य थियो।
घर निर्माण भएपछि झरी, हावाहुरी र असुरक्षित बसाइँको समस्या अन्त्य भएको मीमबहादुरले बताए। उनले सुरक्षित घर पाएपछि सरकार घरमै आएको अनुभूति भएको प्रतिक्रिया दिए।
गाउँपालिकाले विपन्न तथा असुरक्षित आवासमा बस्दै आएका नागरिकलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउने उद्देश्यले यस्तो सहयोग गरिएको जनाएको छ।





