पत्नी हत्या आरोपमा ‘नेपाली ब्रो’ थप पाँच दिन हिरासतमा

काठमाडौँ । ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या आरोपमा थप पाँच दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले बुधबार थापालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
यसअघि दिइएको म्याद सकिएपछि प्रहरी वृत्त बालाजुले थापालाई अदालतमा पेश गरेको थियो। अदालतको आदेशसँगै उनलाई दोस्रो पटक म्याद थप गरी अनुसन्धान अघि बढाउने बाटो खुलेको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार जेठ २२ गते राति थापाले आफ्नी पत्नी ईश्वरी भुजेलको हत्या गरेको आरोप छ। घटनामा संलग्न भएको आशंकामा थापाकी प्रेमिकासहित थप तीन जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
मृतक भुजेल नेपाली सेनामा सुवेदार पदमा कार्यरत थिइन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार प्रारम्भिक अनुसन्धानले घरायसी विवादका कारण घटना भएको संकेत गरेको छ। दम्पतीबीचको सम्बन्ध अत्यन्त तनावपूर्ण र कटुतापूर्ण रहेको देखिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको कारण, संलग्नता र अन्य सम्भावित पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको जनाएको छ।





