परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने तयारी

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयले मन्त्री खनालको चीन भ्रमणका लागि आन्तरिक तयारी भइरहेको जनाएको छ।
मन्त्रालयका अनुसार भ्रमण तालिकाबारे आवश्यक तयारी पूरा भएपछि छिट्टै औपचारिक जानकारी गराइनेछ। वर्तमान सरकार गठन भएपछि मन्त्री खनालले हालै भारतको तीन दिने औपचारिक भ्रमण गरेका थिए।
मन्त्रालयमा आज आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा मन्त्री खनालले राष्ट्रिय हितका विषयमा सरकार, राजनीतिक दल, राज्यका निकाय र सञ्चार क्षेत्रबीच साझा समझदारी आवश्यक रहेको बताए। उनले परराष्ट्रसम्बन्धी सूचना सम्प्रेषण गर्दा संवेदनशीलता अपनाउन पनि आग्रह गरे।
मन्त्री खनालले परराष्ट्र मन्त्रालयमा अघि बढाउन लागिएका नयाँ कार्य र सुधार योजनाबारे पनि जानकारी गराए। उनका अनुसार विदेशस्थित नेपाली नियोगहरूमा आवश्यकताअनुसार थप जनशक्ति व्यवस्थापन र भौतिक पूर्वाधार स्तरोन्नति गरिनेछ।
उनले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई थप सशक्त बनाउने, लुम्बिनी फेलोसिप कार्यक्रम सुरु गर्ने, भू–रणनीतिक सम्मेलन आयोजना गर्ने र राहदानीको बायोमेट्रिक प्रक्रियामा देखिएका चुनौती समाधान गर्ने योजना पनि अघि सारेको बताए।
मन्त्री खनालले हालै सम्पन्न आफ्नो भारत भ्रमण प्रभावकारी र उपलब्धिमूलक भएको दाबी गरे। भ्रमणका क्रममा भारतीय समकक्षीसँग द्विपक्षीय आपसी हितका विविध विषयमा खुलेर र सौहार्दपूर्ण वातावरणमा वार्ता भएको उनको भनाइ थियो।
कार्यक्रममा मन्त्रालयका सचिव अमृतबहादुर राईले वर्तमान सरकारको प्रतिबद्धताअनुसार आर्थिक समृद्धि र सुशासनका लागि मन्त्रालयले काम गरिरहेको बताए।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले मन्त्रालयबाट भइरहेका काम, सुधारका प्रयास र आगामी योजनाबारे सञ्चारकर्मीहरूलाई जानकारी गराएका थिए।
चीन भ्रमणको तयारीलाई नेपालले छिमेकी मुलुकहरूसँगको कूटनीतिक संवादलाई निरन्तरता दिने प्रयासका रूपमा हेरिएको छ।





